हंसपुर नपा–४ बस्ने ५५ वर्षीय तपेश्वर मण्डलको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउतलाई साउन २७ गते गिरफ्तार गरेको छ ।
हंसपुर नगरपालिकाको बघचौडामा रहेको मुख्य कार्यालय बेल्ही चोकमा सार्ने विषयमा नगरप्रमुख रामज्ञान मण्डल र नगर उपप्रमुख रेणु झा पक्षबिच ०७६ साउन २१ गते भएको झडपमा घाइते भएका मण्डलको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा ०७६ भदौ १८ गते मृत्यु भएका थियो ।
मृतक परिवारका सदस्यले नगर प्रमुख रामज्ञान मण्डल, वडा नम्बर ३ का अध्यक्ष उदय सिंह, कार्यपालिका सदस्य श्याम राउत र वडा नम्बर ४ का लालबाबु यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए ।
नगर प्रमुख रामज्ञान मण्डलले नगरका उपमेयर रेणु झा, वडा नं. ४ का अध्यक्ष किशोरी यादव, वडा नं २ का अध्यक्ष उदय साहविरुद्ध ज्यान मार्ने अभियोगमा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गराएका थिए ।
हत्या घटनाको सम्बन्धमा छानविन गर्न कार्यपालिका सदस्य राउतलाई गिरफ्तार गरी थप अनुसन्धान सुरु गरेको र ‘फरार’ आरोपितहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।