INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

खोटाङ घर भई काठमाडौँ महानगरपालिका–१६ चमती बस्ने २८ वर्षीया बबिता राईको साउन १९ गते हत्या गरेको आरोपमा नुवाकोटको तादी गाउँपालिका–२ सातबिसे निवासी पति ३८ वर्षीय रामेश्वर गोतामेलाई प्रहरीले साउन २० गते गिरफ्तार गरेको छ ।

रामेश्वरले पत्नीको हत्या गरेको भन्ने स्थानीयबाट खबर पाएपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई घटनास्थलबाट गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिनुभयो ।

उनीहरू पाँच महिना अघिदेखि चौमतीस्थित राजेन्द्र देवकोटाको घरमा बस्दै आएका थिए । सिंहका अनुसार पत्नीको हत्या गर्न आरोपितले कुनै हतियार प्रयोग नगरेको र घाँटी थिचेर हत्या गरेका थिए ।

पति–पत्नी दुवै जना बालाजु औद्योगिक क्षेत्र भित्रको चप्पल कारखानाका मजदुर हुन् । महानगरीय प्रहरी वृत बालाजुका डीएसपी निर्मल बुढाथोकीका अनुसार उनीहरूको पाँच वर्ष अघि विवाह भएको थियो । शवको पोष्टमार्टम त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा साउन २० गते गरिएको डिएसपी बुढाथोकीले बताउनु भयो ।

अन्य

भिडियो