जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर कार्की, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइराला, इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलसहित सञ्चारकर्मीहरूको टोलीले फागुन १० गते जिल्ला कारागार सप्तरीको अनुगमन गरेको छ ।

कारागार सुरक्षार्थ खटिएको प्रहरीले फागुन १० गते बिहान चेकजाँच गर्न खोज्दा महिला बन्दीहरूले जिल्लाको टोली माग गरेपछि अधिकारकर्मी र सञ्चारकर्मीसहितको अनुगमन टोलीले कारागारको अनुगमन गरेको हो ।
महिला बन्दीहरू सुत्ने कोठामा फागुन ९ गते राति फलाम रेटेको आवाज सुनिएको भन्दै कारागार सुरक्षार्थ खटिएको टोलीले बिहान चेकजाँच गर्न खोज्दा महिला बन्दीहरूले भित्रबाट लगाउने गरेको ताला नखोलेपछि टोलीलाई आमन्त्रण गरिएको नेपाल प्रहरीका सई घनश्याम रायले बताए ।

अनुगनमनका क्रममा टोलीले कारागारको भौतिक संरचनाको चेकजाँच गर्नुका साथै कैदीबन्दीको समस्या तथा उनीहरूमाथि गरिने व्यवहारलगायतका विषयमा जानकारी लिएको थियो । टोलीसमक्ष कैदीबन्दीहरूले सई रायले अपशब्द प्रयोग गरी बारम्बार सरुवाको धम्की दिने गरेकोले भित्रबाट लगाएको ताला नखोली भोकै बसेर आन्दोलन गरेको बताए ।
दोब्बर सङ्ख्यामा कोचिएर बस्नुपरेको, सुत्ने कोठामा नै खाना पकाउनु पर्दा धुवाँले निस्सासिएर आँखा, नाक, टाउको दुख्ने समस्या देखा परेको कैदीबन्दीले गुनासो गरे । दिउँसो १२ बजे मात्र खोलिने गरिएको भित्री कोठाको ढोका बिहान सात बजे खोलिदिन नाइके जिवछीदेवीले माग गरिन् । १० जना अट्ने महिला बन्दी गृहमा हाल दुई आश्रति बालबालिका र १९ कैदीबन्दी बस्दै आएका छन् ।
आफ्नै खर्चले किनेको टोलिफोन सेट बिग्रिएपछि सञ्चार सुविधाबाट वञ्चित हुनुपर्दा आफन्त र कानुन व्यवसायीसँग सम्पर्क हुन नसकेको उनीहरूले बताए । उनीहरूले पुरुष बन्दी गृहमा रहेका आफन्तसँग पनि भेटघाट गर्न नपाएको गुनासो गरे । अध्ययनका लागि पुस्तक र मनोरञ्जनका लागि खेलकुद सामग्री अभावमा समय काट्न समस्या भएको उनीहरूको गुनासो छ । एक शौचालय र एक ट्युववेल मात्र रहेको बन्दी गृहमा थप शौचालय र ट्युववेल बनाउन सजीकरणका लागि कैदीबन्दीले टोलीसमक्ष माग गरेका छन् ।
भेटघाटपछि अनुगमन टोलीले मानवोचित व्यवहारका साथै उनीहरूलाई सुरक्षित र सहज बसाइको वातावरण बनाउन सम्बन्धित प्रहरी र कारागार प्रशासनको ध्यानाकर्षण गराएको छ । बन्दी गृहको चेकजाँच पछि डिएसपी कार्कीले फलाम काटिएको झैँ लागेको आवाज पुरानो पङ्खाको आवाज भएको बताए ।