INSEC Online

📅 २०८३ जेष्ठ २२

“२७ औँ प्रकाश मानव अधिकार पुरस्कार” सामाजिक अभियन्ता फिरुलाल चौधरीलाई

इन्सेकले शोषण, विपन्नता, विभेद मुक्त समाज निर्माणको अभियानमा तीन दशकदेखि क्रियाशील जानकी गाउँपालिका कैलालीका फिरूलाल चौधरीलाई “२७ औँ प्रकाश मानव अधिकार पुरस्कार”बाट सम्मानित गर्ने निर्णय गरेको जनाएको छ ।

Firulal Chaudhary

इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले चौधरीलाई पुरस्कृत गर्न कार्यसमितिलाई सिफारिस गरेपछि कार्यसमितिले साउन ४ गते सो निर्णय गरिएको साउन १५ गते इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाई एयर दुर्घटनामा निधन भएको थियो ।

इन्सेकका अनुसार नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा उहाँले पुर्‍याउनु भएको योगदानको स्मरणलाई चिरस्थायी बनाउने उद्देश्यले इन्सेकले “प्रकाश मानव अधिकार पुरस्कार”को स्थापना गरेको हो ।

‘नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई प्रकाश स्मृति दिवस”को अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ । यो पुरस्कारबाट यसअघि २६ जना सम्मानित भइसक्नु भएको छ ।’-जारी विज्ञप्तमा उल्लेख छ ।

कैलालीको धनगढीमा २०७८ साउन १६ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यमा सम्पन्न हुने समारोहमा चौधरीलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि इन्सेकले जनाएको छ ।

पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्रसहित ५० हजार नगद प्रदान गर्ने गरिएको इन्सेकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो