सुन्दरहरैँचा नगरपालिका–१ स्थायी घर भई विराटनगर महानगरपालिका–१ स्थित जनरल हस्पिटल एवम् ट्रमा सेण्टरमा मेडिकल अधिकृतका रूपमा कार्यरत २७ वर्षीय रोशन झाले पारिश्रमिक नपाएको भन्दै पहल गरीदिन इन्सेक प्रदेश १ कार्यालय विराटनगरमा साउन १४ गते निवेदन दिनु भएको छ ।
आफू कार्यरत हस्पिटलका अध्यक्ष ३६ वर्षीय जयप्रकाश रायले ०७७ पुस १५ गतेदेखि पारिश्रमिक नदिएको भन्दै पीडितले श्रम बापतको पारिश्रमिकका लागि पहल गरीदिन माग गर्दै साउन १४ गते निवेदन दिनु भएको हो । अस्पतालका अध्यक्ष रायले पारिश्रमिक दिने भन्दै काममा लगाएको र आठ महिनायता पारिश्रमिक नदिएको पीडितले बताउनु भयो ।
अस्पतालले ७४ हजार ३ सय १० रुपियाँ उल्लेख भएको चेक वैशाख महिनामा काटेर दिएको भएपनि खातामा पैसा नभएका कारण आफूले चेक साट्न नसकेको पीडितले गुनासो गर्नु भएको छ । पीडितले खातामा पैसा नभएको र बैङ्कले चेक न साटिदिएको विषयमा अध्यक्ष रायलाई जानकारी गराउँदा अध्यक्ष रायले भोली पैसा जम्मा हुन्छ अनि साट्नु भन्दै झुक्याँउदै आएको बताउनु भयो ।
पीडितको निवेदनपछि इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाले अस्पतालका सञ्चालकसँग समन्वय गरेर पीडितले पाउने पारिश्रमिक उपलब्ध गराउन पहल गर्ने बताउनु भयो । प्रदेश प्रमुख थापाले मानव अधिकारभित्र आर्थिक अधिकारसँग जोडिएको विषय भएकाले पीडितलाई न्याय दिलाउन पहल गर्ने बताउनु भएको छ ।
नेपालको संविधान २०७२ ले धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा “श्रमिक” को परिभाषामा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदुर सम्झनु पर्छ भनि व्याख्या गरिएको छ । सोही धाराको उपधारा २ मा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिकको हक हुने भनि उल्लेख गरिएको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा २३ को बुँदा २ मा कुनै पनि व्यक्तिलाई बिना भेदभाव पारिश्रमिकको अधिकार हुने उल्लेख छ ।
