नारायण नगरपालिका–७ किमुकी ७० वर्षीया जैसरा बिकलाई कुटपिट गरी घाइते बनाएको भन्दै १९ वर्षीया छोरी तारा बिकविरूद्ध पीडित पक्षले साउन १३ गते उजुरी दर्ता गराएको छ ।
घरायसी कामकाज गर्न सल्लाह गर्ने सन्दर्भमा साउन १२ गते सौताको छोरीले आफूलाई दाउराले कुटपिट गरेको जैसराले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
आफूबाट सन्तान नजन्मेपछि पति गगन बिकले पदमा बिकसँग दोस्रो विवाह गरेपछि ५ छोरी र ३ छोरा जन्मिएर ९ वर्ष अघि पतिको मृत्यु भएको नारायण नगरपालिका–७ का वडा सदस्य निर्मला खड्काले बताउनुभयो ।
पतिको मृत्यु पश्चात र सौताले अन्यत्रै विवाह गरेपछि सबै छोराछोरीको रेखदेख र अविभावकत्व जैसराले गर्दै आएको सदस्य खड्काको भनाइ छ ।
सौतेनी आमालाई कुटपिट गरेर भागेकी ताराको खोजी भइरहेकोे जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर राजेशकुमार तेलीले जानकारी दिनुभयो ।
घाइते जैसराको दैलेख अस्पतालमा साउन १३ गते उपचार गरिएको डाक्टर सुशीला कटुवालले जानकारी दिनुभयो ।
डाक्टर कटुवाललका अनुसार पीडित महिलाको टाउकोमा ८ वटा टाँका लागेकोे छ ।