कोभिड–१९ को तेस्रो लहर आउनेतर्फ सचेत हुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड अस्पतालमा कम्तीमा एक हजार अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख्न साउन ११ गते निर्देशन दिएपछि कोशी अस्पातलमा अक्सिजन उत्पादन सुरू भएको छ ।
साउन १२ गतेदेखि कोशी अस्पतालमा अक्सिजन प्लाण्ट सञ्चालनमा ल्याइएको छ । अक्सिजन प्लाण्टको काम कोभिड–१९ को महामारीकै क्रममा सुरूआत गरेको र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनमा प्लाण्टको जडान गरी अक्सिजन उत्पादनको काम थालिएको कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डाक्टर चुमनलाल दासले बताउनु भयो । साउन १२ गतेदेखि दैनिक ५ हजार लिटर अक्सिजनको नियमित उत्पादन सुरू भएको डाक्टर दासले बताउनु भयो । अक्सिजन प्लान्टले २४ घण्टामा ४८ लिटर क्षमताका ११० ओटा सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता डाक्टर दासले बताउनु भयो । उत्पादित अक्सिजनलाई अस्पतालको अक्सिजन पाइपलाइनमा सिधै जडान गरिएको छ । अस्पतालभित्रको आकस्मिक, सघन उपचार कक्ष (आइसीयू), हाडजोर्नी विभाग (अर्थापेडिक), कोभिड वार्ड, मेडिकल र जेनेरल वार्डमा अक्सिजन पाइपलाइन जडान गरिएको डा. दासको भनाइ छ ।
अमेरिका–नेपाल मेडिकल फाउण्डेशनको अनुदान सहयोगमा डाइग्नोकेम इन्टरनेशनलले प्लान्ट जडान गरेको हो । जर्मन प्रविधिको केजर कम्प्रेसरमार्फत खुल्ला वातावरणमै रहेको हावाबाट अक्सिजन छानेर प्लान्टमा रहेको मेसिनले अक्सिजन उत्पादन गरी ट्याङ्कीमा पठाउने र ट्याङ्कीबाट पाइपलाइनमार्फत सिधै वितरण गरिने डाइग्नोकेम इन्टरनेशनलका इञ्जिनियर विजन अर्यालले जानकारी दिनुभयो । अक्सिजन प्लान्ट वीर अस्पतालका डाक्टर भुपेन्द्र बस्नेतको पहलमा फाउण्डेशनले उपलब्ध गराएको हो । १ करोड ७ लाख रूपियाँको लागतमा प्लान्ट स्थापना गरिएको मेडिकल सुपरीटेन्डेण्ट डा. दासले बताउनुभयो ।
कोशी अस्पतालमा सञ्चालित ६१ बेडको कोभिड अस्पतालका लागि अहिले दैनिक रूपमा अक्सिजन खपत भइरहेको छ । कोभिड–१९ को सङ्क्रमण अत्यधिक बढेकाले अस्पतालमा दैनिक ४ सय सिलिण्डरसम्म अक्सिजन खपत भएको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख डाक्टर मदनकुमार उपाध्यायले कोभिड–१९ को तेस्रो लहर आउनेतर्फ सचेत रहन आग्रह गर्दै साउन ११ गते सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई सार्वजनिक सूचना जारी गरी कम्तीमा १ हजार ओटा अक्सिजन सिलिण्डर र व्यवस्थापन गर्न परिपत्र गरेको थियो ।
