कोभिड–१९ विरूद्धको खोप सबै जिल्लावासीले समयमा पाउनु पर्ने माग गर्दै इन्सेकसहित अधिकारको क्षेत्रमा क्रियाशिल अधिकारकर्मीहरूले साउन ४ गते नेपाल सरकारलाई ध्यानाकर्षण–पत्र पठाएका छन् ।
इन्सेकसहित पैरवी सञ्जाल ओखलढुङ्गाले प्रमुख जिल्ला अधिकारी बन्दना राईमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई समयमै जिल्लावासीका लागि कोभिड–१९ विरूद्धको खोप व्यवस्थापन गर्नका लागि ध्यानाकर्षण–पत्र पठाएको गैर सरकारी संस्था महासङ्घ ओखलढुङ्गाका सचिव लिलाबहादुर सुनुवारले बताउनु भयो ।
कोभिड–१९ को पहिलो र दोस्रो लहर आएको तथा तेस्रो लहर आउने विज्ञहरूको सुझाव अनुसार जिल्लावासीलाई तत्काल कोभिड–१९ विरूद्धको खोपका लागि प्रमखु जिल्ला अधिकारीमार्फत् साउन ४ गते नेपाल सरकारको ध्यानाकर्षण गराउन ध्यानाकर्षण–पत्र बुझाएको नागरिक मिडिया डटकम ओखलढुङ्गाका सम्पादक शिवप्रसाद ढुङ्गानाले बताउनु भयो ।
अधिकारको क्षेत्रमा क्रियाशिल इन्सेकसहित नागरिक समाज र क्रियाशिल पत्रकारहरूको साझा सञ्जाल पैरवी सञ्जालले कोभिड–१९ विरूद्धको खोपका लागि नेपाल सरकारलाई ध्यानाकर्षण–पत्र पठाएको कान्तिपुर दैनिकका जिल्ला समाचारदाता कुम्भराज राईले बताउनु भयो । जिल्लाका प्रत्येक नागरिकले समयमै पाउने गरी कोभिड–१९ विरूद्धको खोप उपलब्ध गराउन सञ्जालले नेपाल सरकारसँग आग्रह गरेको छ ।
अधिकारकर्मीहरूले बुझाएको ध्यानाकर्षण–पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बन्दना राईले जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेको र सोही अनुसार कोभिड–१९ विरूद्धको खोप व्यवस्थापनका लागि कार्य सम्पादन गर्ने बताउनु भयो । उहाँले अधिकारकर्मीहरूले गराएको ध्यानाकर्षणका विषयमा आफू गम्भीर भएर माथिल्लो निकायमा समन्वय गर्ने बताउनु भएको छ ।



