धनकुटा नगरपालिका–६ की ५० कोपिला शङ्करले मेयर चिन्तन तामाङसँग खानेपानीको समस्या र फोहोरमैला व्यवस्थापनको विषयमा कुराकानी गर्दा मेयरले आफूलाई गालीगलौच गरेको आरोप लगाउनु भएको छ । खानेपानीको समस्या र फोहोरमैलाको व्यवस्थापनका विषयमा असार २८ गते मेयरसँग टेलिफोन कुराकानी गर्दा मेयर तामाङले गालीगलौच गरेको पीडितले असार ३० गते पत्रकार सम्मेलन गरी आरोप लगाउनु भएको छ ।
पीडित शङ्करले असार ३० गते प्रेस विज्ञप्ति जारी गर्दै मेयरले गालीगलौच गरेको आरोप लगाउनु भएको हो । मेयर तामाङले टेलिफोन कुराकानीमा “तपाईकै घरमा पानी नआउने, तपाईकै घरमा गाडी नआउने, के खाएर बस्नु भएको छ नाटक गर्नुहुन्छ कति नेगेटिभ तपाई तपाईको वडाध्यक्षलाई भन्नुस्, तपाईको घरमा पानी आउँदैन भने घर छोडेर जानुस्, जहिले नेगेटिभ तपाई फेरि फोहोरको गाडी आउँदैन भने घर छोडेर जानुस् अहिले नै तुरून्तै गईहाल्नुस् घर छोडेर जानुस्” भनेर फोनमा गालीगलौज गरेको पीडितद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय जनमोर्चा जिल्ला सचिव तथा दलित एकता समाज धनकुटा संयोजक रहनु भएकी पीडितले पत्रकार सम्मेलनमा आफू नगरप्रमुखको गालीले मानसिक तनाबसँग गुज्रिएको र आत्मसम्मानमा नै चोट लागेको बताउनु भयो । नगरप्रमुखले गरेको गालीगलौज प्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने अन्यथा न्यायका लागि माथिल्लो निकायमा जाने पीडित शङ्करको भनाइ छ ।
धनकुटा नगरपालिकाका मेयर ५३ वर्षीय चिन्तन तामाङ्गले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा त्यस्तो खास कुरा गरेको जस्तो नलागेको बताउनु भएको छ । ‘मैले त्यस्तो कुरा नगर्नुस भनेको हो’, उहाँले भन्नुभयो ‘तर एउटा कुरा के हो भने मानिसको प्रवृत्तिमा नै असुविधा भएमा सुविधा खोज्दै अन्त जाने प्रचलन रहेको छ त्यसकारण उहाँलाई पनि यसै विषयलाई आधार बनाएर भनेको हो ।’
