संयुक्त विद्यार्थी सङ्गठनले ०७८ असार १६ गते साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने क्रममा विवाद हुँदा प्रहरीको कुटाइबाट तीन जना विद्यार्थी नेता घाइते भएका छन् ।
घाइते हुनेमा मुसीकोट नगरपालिका-१४ निवासी ३० वर्षीय सुशिल विष्ट, मुसीकोट नगरपालिका-६ निवासी २४ वर्षीय नारायण केसी, त्रिवेणी गाउँपालिका-२ निवासी सोमपाल कामी रहेका छन् ।
घाइतेसुशिलको सदरमुकाम खलङ्गा स्थित साझा अस्पतालमा उपचार भइरहेको र अन्य दुई जनाको प्राथमिक उपचारपछि घर गइसकेको अस्पतालका डाक्टर दिपक पुनले बताउनुभयो । डाक्टर पुनका अनुसार घाइतेहरूको टाउको तथा शरीरका अन्य भागमा चोट लागेको छ ।
संसद विघटनको विरोधमा केन्द्रीय कार्यक्रम अनुसार नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा एमाले (माधव नेपाल समूह) निकट अनेरास्ववियू र विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रन्तिकारीले संयुक्त रूपमा शान्तिपूर्ण आन्दोलन गरीरहेको अवस्थामा प्रहरीले कुटपिट गरेको विद्यार्थी नेता भावना शर्माले जानकारी दिनुभयो ।
पुत्ला दहन गरेको आरोपमा प्रहरीले घाइते तीन जना सहित मुसीकोट नगरपालिका-१४ निवासी विशाल विष्ट लगायतलाई गिरफ्तार गरेको शर्माले आरोप लगाउनुभयो ।
पुत्ला दहन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई उल्टै गाली गरेको र पोसाक समातेर होहल्ला गरेपछि रोक्ने क्रममा लाठी चार्ज गरेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका इन्स्पेक्टर कपिल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार गिरफ्तार गरिएका चार जनालाई तत्कालै रिहा गरिएको छ ।