२५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप जिल्ला सुनापती गाउँपालिका–५ रुपाकोट घरभई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३६ वर्षीय चमारसिंह तामाङलाई असार १५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई असार ४ गते सूर्यविनायक नगरपालिका–८ आदर्शचोकस्थित सडकमा यौन दुर्व्यवहार रहेको आरोपमा प्रहरीमा असार ७ गते उजुरी आएपछि कमलविनायकबाट गिरफ्तार गरेको महानगरीय प्रहरी वृत्त जगातीकी एसपी तारादेवी थापाले जानकारी दिनुभयो ।
गिरफ्तार आरोपितको पहिचान गराई सनाखत गरेपछि प्रहरीले पीडितसँग असार १६ गते पुनः लिखित उजुरी लिएको छ ।
यसैगरी यौन दुर्व्यवहारमा परेको भन्दै थप १२ जना महिलाले विभिन्न मितिमा आफूहरूलाई पनि बाटोमा हिँड्दै गर्दा अश्लिल गतिविधि गरेको र संवेदनशील अङ्गमा समाएर भाग्ने गरेको भन्दै आरोपित तामाङविरुद्ध असार १६ गते उजुरी दिएको प्रहरीले जनाएको छ ।