१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा दुल्लू नगरपालिका–१३ मालिकाका २२ वर्षीय रामबहादुर शाहीलाई दैलेख जिल्ला अदालतले असार १३ गते एक वर्ष कैद र १० हजार जरिवाना तोकेको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले एक वर्ष कैद र १० हजार रूपियाँ जरिवानासँगै चार सय रूपियाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको अदालतका सूचना अधिकारी टीकाराम न्यौपानेले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडित पक्षले ०७७ साउन ११ गते दुर्व्यवहार गरेको भन्दै साउन १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
न्यौपानेका अनुसार सरकारी वकील कार्यालयले ०७७ भदौ ७ गते दैलेख जिल्ला अदालतमा अभियोग पेश गरेकोमा सोहि दिन थुनछेक बहसपछि न्यायाधीश लामिछानेको इजलासबाट आरोपितलाई पुर्पक्षका लागि कारागार थुनामा पठाइएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते दैलेख जिल्ला अस्पतालमा भएको डाक्टर सविना दाहालले बताउनुभयो ।