एपिवान टेलिभिजनका महोत्तरी संवाददाता जलेश्वरका ३० वर्षीय नविन चौधरीलाई स्थानीय सडक उपभोक्ता समितिका अध्यक्ष सञ्जिवकुमार रायले जेठ १३ गते सञ्चार सामग्री नियन्त्रणमा लिएर डिलिट गर्दै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
पीडित पत्रकारले न्यायको माग गर्दै जेठ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।
जलेश्वर नगरपालिका–५ स्थित पतैलीमा गुणस्तरहीन सडक ढलान गरेको भिडियो खिचेको पत्रकार चौधरीको उपभोक्ता समितिका अध्यक्ष रायले दुर्व्यवहार गरेको पीडित पत्रकारको आरोप छ ।
यहाँको सडक जेठ १२ गते ढलान गरिएको थियो । जेठ १३ गते बिहानै सडक भत्किएपछि पत्रकार चौधरीले सडकको भिडियो र फोटो लिनुभएको बताउनु भयो ।
फोटो र भिडियो लिइरहेको देखेपछि उपभोक्ता समितका अध्यक्ष रायले पत्रकार चौधरीलाई ‘किन सडकको भिडियो र फोटो खिचेको ?’ भन्दै मोबाइल खोसेर फोटो र भिडियो डिलेट गरिदिएको पीडितको आरोप छ ।
पत्रकार चौधरीमाथि उपभोक्ता समितिका अध्यक्ष रायले गरेको दुर्व्यवहार र सञ्चार सामग्री नियन्त्रणमा लिई फोटो र भिडियो डिलिट गरिदिएको घटनाको नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाले निन्दा र भत्सर्ना गरेको छ ।