INSEC Online

📅 २०८३ जेष्ठ २१

राख्ने ठाउँ र जनशक्तिको अभावमा भेण्टिलेटर र आइसीयू प्रयोगमै आएनन्

देशका कतिपय ठाउँमा भेण्टिलेटर र आइसीयू बेड अभाव भएका खबरहरु आइरहेका छन् । तर, जिल्ला अस्पताल धनकुटामा भेण्टिलेटर र आइसीयू बेड राख्न ल्याइएका उपकरण जडान नहुँदा अलपत्र परेका छन् । ती उपकरण ल्याएको डेढ महिनाभन्दा बढी समय बितिसकेको छ ।

ठाउँ अभावकै कारण जडान हुन नसक्दा भेण्टिलेटर र आइसीयूका उपकरणहरू अलपत्र परेको जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर पुजन विश्वकर्माले बताउनु भयो । अस्पतालको दोस्रो तलामा ती उपकरणहरू त्रिपालले छोपेर राखिएको छ ।

photo20210527dhankuta (1)

नेपाल सरकारको जनसुरक्षा कोषको सहयोगमा चार ओटा भेण्टिलेटर सहितका १० ओटा आइसीयू बेड सञ्चालन गर्न करिब १ करोड ६५ लाख रुपियाँको लागतको खरिदमा उपकरणहरू ल्याइएको डाक्टर विश्वकर्माले बताउनु भयो ।

स्वास्थ्य कार्यालय धनकुटाको भवनमा अस्पतालको केही सेवा सहितको प्रशासनिक फाँट सारेर खाली भएको ठाउँमा भेण्टिलेटर सहितको आइसीयू बेडका लागि आवश्यक उपकरण जडान गर्ने प्रक्रिया अघि बढाइएको थियो ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरको बैठकले हालको स्वास्थ्य कार्यालय धनकुटा–४ देव्रेवासस्थित महिला विकास कार्यालयको नयाँ भवनमा सार्ने निर्णय गरेको थियो ।

प्रदेश १ का तत्कालीन् सामाजिक विकास मन्त्री जीवन घिमिरे धनकुटा आएर स्थान छनौट गरी कात्तिक ६ गतेका दिन उक्त निर्णय गरिएको थियो ।

photo20210527dhankuta (3)

केहीदिन अघि मात्रै स्वास्थ्य कार्यालय सरेको र उपकरण जडानको काम सुरु गरिएकाले दुई सातासम्ममा जडान हुुने विश्वकर्माले बताउनु भयो ।

अस्पतालले भेण्टिलेटर सहितको आइसीयू बेड राख्न आवश्यक पूर्वाधार निर्माणको लागि ठेक्का समेत लगाइसकेको छ ।

डाक्टर विश्वकर्मा भन्नुहुन्छ–‘ठेक्का लागिसक्यो । ठेकेदारले काम सुरू गरेका छन् ।’ असारसम्म निर्माण सम्पन्न गरिसक्ने गरी ३० लाख रुपियाँमा ठेक्का लगाएको पनि उहाँले बताउनु भयो ।

भेण्टिलेटर सञ्चालनको लागि एनेस्थेसियोलजिष्ट र फिजिसियनको आवश्यकता हुन्छ । तर, जिल्ला अस्पतालमा एनेस्थेसियोलजिष्ट, फिजिसियनको दरबन्दी नै कायम गरिएको छैन ।

जिल्ला अस्पताललाई विशेषज्ञ सेवातर्फको विज्ञापन र पदपूर्ति गर्ने अधिकार नभएको कारण हालसम्म पदपूर्ति गर्न नसकेको अस्पतालका सूचना अधिकारी राजन पोख्रेलले बताउनुभयो ।

‘प्रदेश १ सरकारको सहयोगमा गत आर्थिक वर्षको असार मसान्तमा चार ओटा भेण्टिलेटर प्राप्त भएको छ । जडानको काम भइरहेको छ । तर, जडानपछि पनि सञ्चालनमा आउन सक्ने अवस्था नै छैन ।’–पोख्रेलले भन्नुभयो–‘भेण्टिलेटर सञ्चालनको लागि आवश्यक जनशक्तिको व्यवस्थापन हुन सकेको छैन ।’

photo20210527dhankuta (2)

हाल कोभिड–१९ सङ्क्रमणको भयावह अवस्थामा यसको आवश्यकता धेरै नै रहेको छ । कोभिड–१९ सम्बन्धी उपचारको लागि आउने बिरामीहरुलाई आइसीयू र भेण्टिलेटरमा समेत राखेर उपचार गर्नुपर्ने हुन्छ ।

जिल्ला अस्पतालमा उपकरण भएपनि जडान नहुँदा सेवाग्राही छिमेकी जिल्ला सुनसरीको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्नुपर्ने बाध्यता रहेको छ ।

अन्य

भिडियो