गोली प्रहारबाट घाइते भएका नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य कपिलवस्तु नपा–१ का ३४ वर्षीय दिपक पाण्डेयको उपचारको क्रममा काठमाडौं स्थित शिक्षण अस्पतालमा जेठ १० गते मृत्यु भएको छ ।
पाण्डेयको भैरहवा मेडिकल कलेजमा उपचार सम्भव नभएपछि जेठ १० गते हेलिकप्टरबाट शिक्षण अस्पताल काठमाडौं लगिएको थियो । उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका एसपी नवराज अधिकारीले बताउनु भयो ।
दिपक, भारतीय नागरिकहरू इयाज र ३६ वर्षीय मोहम्मद ईसाद खान जेठ ५ गते राति जर्लैया नाकाबाट मोटरसाइकलमा तौलिहवा फर्कने क्रममा कपिलवस्तु नपा–९ सडवामा तीन जनाको समूहमा आएका व्यक्तिहरूले गोली प्रहार गरेका थिए । गोली प्रहारबाट पाण्डेय र भारतीय नागरिक २६ वर्षीय इयाज अख्तर मुसलमान घाइते भएका थिए ।
घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले कपिलवस्तु नपा–१ आनन्दवागका ३९ वर्षीय ओमप्रकाश यादव र सोही नपा–२ का ३३ वर्षीय साकिर अलिलाई जेठ ७ गते तौलिहवाबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज अधिकारीले बताउनु भयो ।