INSEC Online

📅 २०८३ जेष्ठ २१

एक महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९६ जना पीडित

इन्सेकले वैशाख महिनामा ५७ जना महिला र ३९ जना पुरुष गरी ९६ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाबाट पीडित भएको जनाएको छ ।

जेठ ७ गते वैशाख महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले ०७८ वैशाख महिनामा प्रकाशित समाचार अनुसार विभिन्न घटनामा परी ९६ जना पीडित भएका र चार ओटा भौतिक संरचनामा क्षति पुर्‍याएको जनाएको हो ।

‘प्रकाशित समाचार अनुसार बागमती प्रदेशमा सबै प्रदेशभन्दा बढी २३ जना पीडित भए भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम चार जना पीडित भए । प्रदेश २ मा २२ जना, गण्डकी प्रदेशमा १३ जना, प्रदेश १ र कर्णाली प्रदेशमा १२/१२ जना, तथा लुम्बिनी प्रदेशमा १० जना पीडित भए । वैशाखमा कारागारमा दुई जनाको मृत्यु भएको छ । यही अवधिमा एक जना शिक्षकको हत्या भएको समाचार पनि प्रकाशित छ ।’–विश्लेषणमा उल्लेख गरिएको छ ।

वैशाखमा प्रकाशित समाचारमध्ये बाल अधिकार उल्लङ्घनका घटनामा परी ४० जना पीडित भएका जनाइएको छ । त्यसैगरी महिला अधिकार उल्लङ्घनका घटनामा १२ जना पीडित भए ।

यो अवधिमा परिवारजनबाट चार जना महिलाको हत्या र एक जना महिलाको बलात्कारपछि हत्या भएको विश्लेषणमा उल्लेख गरिएको छ ।

प्रकाशित समाचारमा दुई जना पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको, कुटपिट र दुव्र्यवहारका घटनामा चार/चार जना, धम्कीका घटनामा तीन जना, अमानवीय व्यवहारका घटनामा दुई जना तथा झडप र अन्य घटनामा ११ जना घाइते भएका भनी विश्लेषणमा देखाइएको छ ।

‘यो अवधिमा भौतिक संरचना क्षतिका चार ओटा घटना पनि प्रकाशमा आए । उपचार अभावमा एक जना महिला र सात जना पुरुषको मृत्यु भएका समाचार वैशाखमा प्रकाशन भए । कोभिड–१९ को महामारीका बिच अस्पतालहरूमा उपचार अभाव भएका घटनाहरू बढेका हुन् ।’–विश्लेषणमा उल्लेख छ ।

वैशाख महिनामा कोभिड सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । केही समययता घटेको सङ्क्रमण पुनः बढेको हो । एक महिनाको अवधिमा १ लाख ५८ हजार ९४ जना सङ्क्रमित थपिए ।

यो अवधिमा परीक्षण ४ लाख ७ हजार ५ सय ५१ ओटा स्वाबको परीक्षण भयो । निको हुनेको सङ्ख्या ५३ हजार २ सय ६ रह्यो भने थप १ हजार ६ सय ८ जना सङ्क्रमितको मृत्यु भयो । एक महिनाको अवधिमा महिला सङ्क्रमित बृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कमा कोभिड-१९ (२०७८ वैशाख)
मिति र शीर्षक वैशाख १ वैशाख ३१
परीक्षण २३२५९५९ २७३३५१०
सङ्क्रमित २८१५६४ ४३९६५८
सक्रिय सङ्क्रमित ४०५६ १०७३३६
निको २७४४४७ ३२७६५३
निको दर ९७.५ ७४.५
मूत्यु ३०६१ ४६६९
लिङ्गका आधारमा सङ्क्रमित (प्रतिशतमा)
महिला ३५.२२ ३७.९९
पुरूष ६४.७८ ६२.०१

मासिक विश्लेषण पढ्नका लागि यहाँ क्लिक गर्नु होला 

अन्य

भिडियो