INSEC Online

📅 २०८३ जेष्ठ २१

फुजेल हत्यासम्बन्धी मुद्दाको सुनुवाइ १२ औँ पटक सर्‍यो

माघ १९ गतेका लागि तोकिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा १२ औँ पटक अर्को पेशी तोकिएको छ । जिल्ला अदालत चितवनका सूचना अधिकारी कृष्ण बरालका अनुसार फागुन २३ गतेका लागि पेशी तोकिएको हो ।

अदालतको प्रशासनिक कार्यले गर्दा पेशी सार्नुपरेको सूचना अधिकारी बरालले जानकारी दिए । छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही माग गर्दै अनसनरत आमा गङ्गामायाले लामो समयदेखिको अनसन गत भदौ २७ गते मात्र तोडेकी थिइन् । चितवन अदालतका श्रेष्तेदार सहितको टोलीले असोज २ गते वीर अस्पतालमै पुगेर गङ्गामाया सँग वकपत्र गरेका थिए ।

०६१ जेठ २४ गते कृष्णप्रसादका बुवा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा उजुरी दिएका थिए । त्यसको १ वर्ष६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । तत्कालीन माओवादी कार्यकर्ताले ०६१ जेठ २४ गते कृष्णप्रसाद अधिकारीको अपहरण गरी हत्या गरेका थिए ।

हत्यामा संलग्नलाई कारबाहीको माग राखेर आमरण अनसन बसेका अधिकारीका बावु नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा ०७१ असोज ६ गते मृत्यु भएको थियो ।

अन्य

भिडियो