बीरगञ्ज कारागारभित्र ०७३ पुस १० गते दिउँसो कैदीहरूबिच भएको झडपमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका २६ वर्षीय कैदी राजनकुमार बानियाको माघ १७ गते उपचारको क्रममा काठमाडौँको वीर अस्पतालमा मृत्यु भएको छ । उनको उपचार सुरक्षा निगरानीमा काठमाडौँमा भइरहेको थियो ।
बीरगञ्ज उमनपा-१३ घडीअर्वा घर भएका बानिया, शरीर बन्धक तथा अपहरण मुद्दामा बीरगञ्ज कारागारमा कैदी जीवन बिताइरहेका थिए ।
पुस १० गते बेलुकी ‘क्रिसमस पर्व’का अवसरमा बीरगञ्ज कारागारभित्र कैदीबन्दीहरूले रमाइलो गरिरहेका बेला कैदी पनिलाल पण्डितले चक्कु प्रहार गर्दा राजनसहित आठ जना कैदीहरू घाइते भएका थिए ।
पण्डितको चक्कु प्रहारबाट बानियाको टाउको पछाडि गर्दनभन्दा माथिको भागमा गहिरो घाउ भएको थियो ।
मृतकका ५० वर्षीय बुवा रामधारी दास बानियाले गृहप्रशासनले उपचारमा ध्यान नदिएको कारण आफूले छोरा गुमाउनु परेको बताए । छोराका उपचारमा उनले आफनो १ लाख ५० हजार रुपियाँ खर्च भएको बताए । ‘अप्रेशनमा लाग्ने खर्च आफैँ तिर्न तयार थिएँ, त्यसका लागि घर बन्धकी राख्ने तयारी पनि गरिसकेको थिएँ । तर, जेलर र पुलिसले मिल्दैन भनेपछि आफूले केही गर्न सकिनँ ।’-उनले भने ।
उपचारको उचित व्यवस्था मिलाइदिन पर्साका प्रमुख जिल्ला अधिकारी तथा कारागार प्रशासनसँग गुहार मागे पनि कसैले वास्ता नगरेको रामधारी दासले आरोप लगाए । वीर अस्पतालमाको ट्रमा सेन्टरमा चार दिन राखेपछि उनलाई कारागार प्रशासनले काठमाडौँमा रहेको कारागार भित्रको मेडिकलमा राखेर उपचार गर्दै आएको थियो ।
माघ १७ गते पीडितको अवस्था गम्भीर भएपछि केन्द्रीय कारागार प्रशासनले पीडित बानियालाई वीर अस्पताल पठाएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले राजनलाई उपचारका लागि बीरगञ्जबाट काठमाडौँ पठाएलगत्तै उनको केन्द्रीय कारागारमा सरुवा गरिएको र त्यसपछि राजनको सबै जिम्मेवारी केन्द्रीय कारागार प्रशासनको हुने प्रतिक्रिया दिए ।
‘अदालतको आदेशबाट प्रहरीको थुना वा कारागारमा रहेका व्याक्तिको खानपान, बास, सुरक्षा र उपचारको जिम्मेवारी राज्यको हुन्छ, राजनमाथि कारागारभित्रै आक्रमण भएको हो, त्यसैले उनको उपचार सुविधा सम्पन्न अस्पतालमा गराउनुपर्ने दायित्व राज्यको नै थियो ।’-अधिवक्ता पन्नालाल गुप्ताले भने ।