१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धनकुटा नगरपालिका–६ का ५८ वर्षीय गौरीकुमार अत्री भुजेल, सोही ठाँउका ७१ वर्षीय भक्तबहादुर मगर, ५६ वर्षीय देवेन्द्रबहादुर श्रेष्ठलाई माघ १५ गते १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश फडिन्द्रप्रसाद पराजुलीको माघ १५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै सोही मुद्दामा धनकुटा नगरपालिका–६ का ५५ वर्षीय शिक्षक मदन अधिकारीलाई १८ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
अदालतले कैद सजायसँगै पीडितले पाउने गरी जनही १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन र जनही २५ हजार रपैयाँ कसुरदारबाट असुल गरी पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको अदालतका श्रेष्तेदार राजन बास्तोलाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितहरूले पटकपटक बलात्कार गर्दै आएको र अन्तिम पटक ०७७ जेठ १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले गौरीकुमार, भक्तबहादुर र देवेन्द्र श्रेष्ठलाई जेठ ३ गते र अधिकारीलाई जेठ ४ गते धनकुटाबाट गिरफ्तार गरेको थियो ।
प्रहरीले आरोपितहरूविरूद्ध जिल्ला अदालतमा ०७७ जेठ २१ गते बलात्कार र यौन शोषण शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतको ०७७ असार १७ गतेको आदेशमा आरोपितहरू पुर्पक्षका लागि थुनामा थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १ गते गरिएको थियो ।