जिल्ला कारागारमा कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा बढी हुँदा दैनिक ४५ जना भन्दा बढी कैदीबन्दी कारागारको पेटी र प्यासेजमा सुत्न बाध्य छन् । यसबाट व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।
पुरुष कक्षतर्फ ५० जना र महिलातर्फ २० जना क्षमता भएको कारागारमा पुरुषतर्फ १ सय ४३ जना कैदीबन्दी रहेकोले दैनिक ४५-५० जना कैदीबन्दी पेटी, प्यासेस जस्ता खुल्ला ठाउँमा सुत्न बाध्य भएको कारागार प्रमुख दुर्गाप्रसाद वाग्लेले बताउनुभयो ।
कारागारमा ७९ जना कैदी र ६४ जना बन्दी गरी १ सय ४३ जना पुरुष कैदीबन्दी रहेका छन् । महिलातर्फ १० कैदी र ६ बन्दी गरी १६ जना रहेका छन् ।
क्षमता भन्दाबढी कैदीबन्दीको सङ्ख्या हुँदा शौचालय प्रयोग र खानेपानीको समेत समस्या रहेको छ ।
कारागारलाई व्यवस्थित गर्न र कैदीबन्दीको सङ्ख्या घटाउन धेरै पहल गरे पनि काम नहुँदा समस्या ज्युँका त्युँ रहेको कारागार प्रमुख वाग्लेले बताउनुभयो ।
‘कोभिड–१९ लाई ध्यानमा राखी १७ जना अट्ने कोभिड क्वारेनटाइनको रूपमा प्रयोग गर्न अस्थायी भवन निर्माण गरिएको छ’ वाग्लेले भन्नुभयो ‘कोभिड–१९ सङ्क्रमणको अन्त्य भएपछि त्यही क्वारेनटाइन कैदी बन्दीले पूर्ण रुपमा प्रयोग पाउनेछन् । त्यसपछि केही सहज हुनेछ ।’
कारागारमा बाहिरबाट आउने कैदीबन्दीको पीसीआर परीक्षण गरेपछिमात्र राख्ने गरेको जिल्ला कारागारले जनाएको छ ।
कारागारमा रहेका कैदी बन्दीहरूले बाँसको मुढा निर्माण गर्ने, स्वीटर, मोजा, बुन्ने लगायत कामहरू गरेर आम्दानी गरिरहेको चौकीदार खेसबहादुर तामाङले बताउनुभयो ।