INSEC Online

📅 २०८३ जेष्ठ २१

टिकापुर घटनाः उच्च अदालतद्वारा रेशम चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला

जिल्ला अदालत, कैलालीले ०७५ फागुन २२ गते गरेको फैसलालाई सदर गर्दै उच्च अदालत, दिपायलले टिकापुर घटनाका मुख्य आरोपित रेशम चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

उच्च अदालत, दिपायलका न्यायाधीसद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले पुस २ गते सो फैसला सुनाएको हो ।

जन्मकैदको सजाय हुनेमा रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, बीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी, गङ्गाराम चौधरी र लक्ष्मण थारु रहेका छन् ।

उच्च अदालत, दिपायलले जन्मकैदको फैसला सुनाएका लक्ष्मण थारुलाई यसअधि जिल्ला अदालत, कैलालीले तीन वर्षको सजाय सुनाएको थियो । लक्ष्मण थारु तीन वर्ष भन्दा बढी पुर्पक्षमा रहेकाले जिल्ला अदालतको फैसलापछि रिहा भएका थिए ।

कैलाली जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सङ्घीय सांसद रेशम चौधरीसहित सात जनाको फैसला उच्च अदालत, दिपायलले सदर गरेको उच्च अदालतका रजिष्टार सिता रेग्मीले बताउनु भयो ।

कैलाली जिल्ला अदालतका तत्कालिन न्यायाधीश परसुराम भट्टराईको इजलासले ०७५ फागुन २२ गते रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

११ जनामध्ये श्रवण चौधरी नाबालक भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११(३०)अनुसार १० वर्ष मात्र कैद फैसाला गरिएको थियो ।

टिकापुर घटनाका आरोपित लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तकुमार चौधरी, विश्राम भनिने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किसनलाल चौधरी, रामप्रसाद चौधरी, दिलबहादुर चौधरी, सङ्गम भनिने सन्तोष थारु(चौधरी) र चुन्नीराम चौधरीलाई कैलाली जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको थियो ।

कैलाली जिल्ला अदालतको सो फैसला चित्त नबुझेको भन्दै जन्मकैदको सजाय पाएका रेशम चौधरी सहितका ११ जनाले ०७६ वैशाखमा उच्च अदालत, दिपायलमा पुनरावेदन गरेका थिए ।

प्रतिवादीकोहरूकोतर्फबाट बहस गर्ने कानुन व्यवसायी गम्भिरसिंह ऐरले अदालतले गरेको फैसलालाई सबैले स्वीकार गर्नु पर्ने र फैसलामा चित्त नबुझे सर्वोच्च अदालतमा जान सकिने कानुनी अधिकार रहेको बताउनु भयो ।

थरूहट आन्दोलनको क्रममा ०७२ भदौ ७ गते टिकापुर घटनामा एक जना नाबालकसहित सात प्रहरीको ज्यान गएको थियो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा एक नाबालक, राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधि सभाका सदस्यमा निर्वाचित रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरिइएको थियो । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाइएको थियो ।

अन्य

भिडियो