चन्दनाथ नगरपालिकाले दशैँ र तिहारमा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन । भत्ता नपाएपछि अप्ठ्यारो भएको अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गुनासो गरेका छन् ।
ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले असोजमै सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने हो । तर, अहिलेसम्म वितरण नगरेको ज्येष्ठ नागरिक सङ्घ, जुम्लाका अध्यक्ष तीर्थराज भारतीले बताउनुभयो ।
‘त्यही पैसाले दशैँ तिहार मनाउँला भन्ने सोचेको थिएँ । अहिलेसम्म दिएका छैनन् ।’–भारतीले भन्नुभयो–‘जनप्रतिनिधि र कर्मचारीले आफ्नो सेवा–सुविधा समयमै लिन्छन् । हामीले पाउनुपर्ने सुविधाका विषयमा चासो राखेनन् ।’
नगरप्रमुख कान्तिका सेजुवालले सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएको बताउनुभयो ।
‘सामाजिक सुरक्षा वितरण गर्ने फाँटका कर्मचारीको लापरबाही र बदमासीका कारण दशैँमा पनि भत्ता उपलब्ध गराउन सकेनौँ । तिहारमा पनि भत्ता दिन सकिने अवस्था छैन । तिहारलगत्तै सामाजिक सुरक्षा भत्ता बाँड्छौँ ।’–नगरप्रमुख सेजुवालले भन्नुभयो ।
चन्दननाथ नगरपालिकामा ७ सय २० जना ज्येष्ठ नागरिक छन् । एकल महिला ३ सय ४५, बालबालिका १ हजार ४ सय र अपाङ्गता भएका व्यक्ति १ सय ६६ जना छन् ।
६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई महिनामा २ हजार रुपियाँ भत्ता तथा ७० वर्ष माथिकालाई २ हजार रुपियाँ भत्तासँगै १ हजार रुपियाँ उपचार खर्च दिने व्यवस्था छ ।
त्यस्तै, एकल महिलालाई महिनामा २ हजार रुपियाँ र बालबालिकालाई प्रतिमहिना ४ सय रुपियाँ दिने गरिएको छ ।