यौन दुर्व्यवहारबाट पीडित ३५ वर्षीया महिलाले गाउँका पञ्चको दबाबमा परेर प्रहरीमा उजुरी दिने बेलामा अभद्र व्यवहारमा उजुरी दिएकी छन् ।
घटनाका आरोपित बिष्णुपुर गाउँपालिका–६ का ३६ वर्षीय वचवा भनिने राजेश सरदार र सोही ठाउँका २८ वर्षीय कोभिया सरदारविरुद्ध जिल्ला प्रहरी कार्यालयले असोज १९ गते पीडितले लिखित रूपमा दिएको अभद्र व्यवहारको उजुरी दर्ता गरेको छ ।
यौन दुर्व्यवहार गरेको भन्दै आरोपितद्वयविरुद्ध प्रारम्भिक बयान दिएकी पीडितले लिखित उजुरी दिन नमानेपछि प्रहरीले प्रतिवेदनका आधारमा अभद्र व्यवहारको उजुरी दर्ता गरेको डिएसपी भुवनेश्वर साहले बताउनु भयो ।
घर अगाडि बनेको गुहाली (गोठ) घरमा १० वर्षीय छोरासँग सुतेका बेला असोज ११ गते राति मादक पदार्थ सेवन गरी आएका आरोपितहरूले यौन दुव्र्यवहार गर्दै बलात्कारको प्रयास गरेको भन्दै पीडितले पत्रकार र अधिकारकर्मीसमक्ष गुनासो गरेकी थिइन् ।
घटनास्थलबाटै पीडितका जेठा छोराले आरोपित कोभियालाई नियन्त्रणमा लिएपछि गाउँलेहरूले कुटपिट समेत गरेका थिए भने कोभियाले जीवनमा यस्तो काम नगर्ने र फर्केर कहिल्यै यो बाटो नहिँड्ने भन्दै माफी मागेका थिए । अर्का आरोपित राजेश भाग्दा छुटेको गम्छा पीडितको गुहाली घरमै टाँगिएको छ ।
घटना मिलाउन वडाध्यक्ष बहादुर सदासहित गाउँका पञ्चहरुले नसकेपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा असोज १८ गते आएर घटनाबारे बयान दिँदै हस्ताक्षर गरेकी थिइन् ।
पीडितकै उजुरीका आधारमा प्रहरीले आरोपितहरूलाई असोज १८ गते नै गिरफ्तार गरेको छ । पीडित महिलाले हस्ताक्षरसहित दिएको बयान र आरोपितहरुलाई गिरफ्तार गर्न खोज्दा भएको दुर्व्यवहारका आधारमा प्रहरीले अभद्र व्यवहारको उजुरी दर्ता गरेको जनाएको छ ।