धनुषाधाम नपा–७ किसानपुरका पाँच वर्षीय रुपेश सदालाई यौन दुर्व्यवहार गरी हत्या गरेको आरोपमा प्रहरीले सबैला नपा–७ भठिहनका २२ वर्षीय रामबहादुर सदालाई असोज १५ गते गिरफ्तार गरेको छ ।
आरोपितले असोज १५ गते दिउँसो सालो नाता पर्ने बालकलाई बिस्कुट, चकलेटको प्रलोभन देखाएर सँगै माछा मार्न लिएर गएको अवस्थामा यौन दुव्र्यवहार गर्दा बालक बेहोस भएपछि रामबहादुर सदाले बालकले लगाएको कन्दनीले घाँटी कसी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।
असोज १५ गते दिउँसो छोरा हराइ रहेकाले खोजी गर्दै जाँदा धनुषाधाम नपा–७ स्थित कृषि इँटा उद्योगमा वर्षातको पानी जमेको खाल्डोको डिलमा पात पतिङ्गरले छोपिएको अवस्थामा छोराको शव फेला परेको मृतकका बुबा रामेश्वर सदाले बताउनु भयो ।
शवको असोज १५ गते प्रादेशिक अस्पताल जनकपुरमा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमको रिपोर्टमा बालकलाई यौन दुर्व्यवहार गरेको खुलेपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो ।
आरोपित रामबहादुर सदाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा असोज १६ गते पीडितका बुबा रामेश्वर सदाले उजुरी दिनु भएको छ ।