कन्याम चिया बगानमा कार्यरत श्रमिकले ०७५ देखि लागू भएको दैनिक ज्यालादर अझै सहज ढङ्गले नपाएको गुनासो गरेका छन् ।
सरकारले तोकेको न्यूनतम दैनिक तीन सय ८५ रुपियाँ ज्याला प्रदान गरेपनि त्यो ज्याला पाउन श्रमिकले बाध्यकारी ढङ्गले काम गर्नुपरेको चिया श्रमिकले गुनासो गरेका छन् ।
न्यूनतम ज्याला कार्यान्वयन गरेसँगै बगान व्यवस्थापन पक्षले हातले टिपेको चिया प्रति श्रमिक दैनिक २२ किलो र सानो मेसिनले टिपेको चिया दैनिक ५० किलो पुर्याउनु पर्ने नियम बनाएको छ ।
यो नियम शुरू भएपछि धेरै श्रमिकले तोकिएको चियाको तौल पुर्याउन नसक्दा न्यूनतम ज्याला दर पाउनबाट वञ्चित भएको श्रमिकले बताएका छन् ।
तर, बगानको विपक्षमा भएका विषयलाई बाहिर ल्याउँदा श्रमिकहरूले आफ्नो पहिचान खुलाउन मान्दैनन् ।‘ मेरो नाम नखुलाइ दिनुहोला’ एक श्रमिकले भन्नुभयो ‘हामी आफू मर्कामा परेको कुरा बाहिर ल्याउँदा व्यवस्थापन पक्षले उल्टै सरूवा गर्ने, काममैबाट हटाउने जस्ता धम्की दिन्छ । हामी शोषणमा परेका छौं, ‘यही कामबाट निस्कनु पर्यो भने हातमुख जोर्न समस्या हुन्छ ।’
श्रम ऐन ०७४ ले श्रमिकलाई ४५ दिन बिरामी बिदा दिने व्यवस्था गरेपनि कन्याम चिया बगानका श्रमिकले त्यो बिदा सञ्चित गर्न नपाएको अर्का श्रमिकले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
‘वर्षभरीमा १२ दिन बिरामी बिदा पाइन्छ, त्यो बिदा बस्यो भने मात्र सदुपयोग हुन्छ, नत्र सञ्चित गर्न पाईंदैन, कटौती भएर जान्छ ।’ पहिचान खुलाउन नमान्नु भएका चिया श्रमिकले भन्नुभयो ‘लगातार ३० दिन काममा उपस्थित हुन सकिएन भने व्यवस्थापनले स्पष्टीकरण सोधेर सोझै हटाउने गरेको छ, त्यस्ता घटना पनि भएका छन् ।’
कन्याम चिया बगानमा अहिले ६७ स्थायी श्रमिक र ३३ जना मौसमी गरी एक सय श्रमिक कार्यरत छन् । तर, बगानका प्रवन्धक आइके सिंह भने श्रमिकका विषय बोल्न चहानु भएन । बिहान आठ बजेदेखि बेलुका पाँच बजेसम्म काम गर्दा पनि न्यूनतम ज्याला पाउनमै श्रमिकले संघर्ष गरीरहनु परेको छ ।
सरकारी स्वामित्वमा रहेका कन्यामसहित इलाम, सोक्तिम, चिलिमकोट, झापाका बर्ने, टोकला र बाह्दशी गरी सात चिया बगानलाई नेपाल सरकारले ०५७ सालमा ५० वर्षका लागि त्रिवेणी सङ्गघाइ समुहलाई लिजमा दिएको छ ।
