तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाकी २५ वर्षीया सञ्जुदेवी मण्डललाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले सोही ठाउँका ४३ वर्षीय सदिक मन्सुरीलाई असोज ६ गते गिरफ्तार गरेको छ ।
लौनिया टोलभन्दा पश्चिम नहरको छेउमा रहेको खेतमा लगाइएको धान बालीमा साउन १९ गते आरोपितले पशुचौपाया चराएको तथा बाली मासिने गरी माछा मारेको देखेपछि पीडितले धानमा क्षति नपु¥याउन भन्दा आरोपितले कुटपिट गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
कुटपिटबाट अत्यधिक रक्तस्राव भएको भन्दै पीडितले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भिडियो एक्सरे गराउँदा साढे दुई महिनाको गर्भपतन भएको स्वास्थ्यकर्मीले जनाएको पीडितले बताउनु भयो ।
वडा अध्यक्ष खगेन्द्रप्रसाद मण्डलले कानुनी उपचार खोज्न सुझाए पनि समाजका अन्य अगुवाले गाउँमा पञ्चायती डाकेर समस्या समाधान गर्न खोजेको उहाँले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको पत्रानुसार प्रहरी चौकी तिलाठी भन्सारका सई सिकेन्द्रप्रसाद कानुले दुवै पक्षलाई राखी छलफल गराएर सहमतिको प्रयास गरेपछि पीडित निराश भएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयले घटनाको निकै दिनपछि असोज ३ गते बोलाएर उजुरी दिन लगाएको पीडितले बताउनु भयो ।
डाकनेश्वरी नपा–७ की १७ वर्षीया बालिका बलात्कार घटनाका आरोपितहरू विरुद्ध उजुरी गर्न गाउँकै पञ्चहरूले रोक लगाएपछि भदौ ३० गते आत्महत्या गरेको घटनापछि संवेदनशील घटनामा पञ्चायती गरेर सहमति गराउने घटनाहरूको सर्वत्र विरोध हुन थालेपछि प्रहरीले पीडितलाई बोलाई उजुरी दर्ता गरेको र आरोपितलाई गिरफ्तार गरेको अधिवक्ता मीना देवले बताउनु भयो ।