नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबिच असोज ५ गते झडप हुँदा दुबै तर्फ गरी ६ जना घाइते भएका छन् ।
झडपमा नेपाली कांग्रेसका सभापति ५२ वर्षीय भुवनप्रसाद श्रेष्ठ र नेता ३५ वर्षीय पुर्ण केसी घाइते भएका छन् । यसैगरी जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर ५२ वर्षीय राजकुमार रावल, प्रहरी जवान २४ वर्षीय हुमन थापा, २४ वर्षीय रेमबहादुर भुजेल, २४ वर्षीय बिष्णु सुनारी मगर र २२ वर्षीय सरोज बिष्ट घाइते भएको डिएसपी केदारराज पन्तले बताउनु भयो । घाइते सबै गुल्मी अस्पताल तम्घासमा उपचार पश्चात फर्केका छन् ।
रेसुंगा नगरपालिका–१२ को रानीपोखरी निमाविको विषयलाई लिएर बिरोध गर्न कांग्रेस नेता कार्यकर्ता जिल्ला प्रशासन कार्यालय पुगेका थिए । भदौ १९ गते रानीपोखरी निमाविको भवन निर्माणको विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप भएको थियो ।
दुबै पक्षले आ–आफ्ना कार्यकर्तामाथि कुटपिट भएको दावी गर्दै आएका छन् । नेपाली कांग्रेसले अफ्ना कार्यकर्ता कुटपिट गर्नेहरुलाई प्रहरीले गिरफ्तार नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेकाा थिए ।
प्रशासन कार्यालयभित्र कांग्रेस नेता–कार्यकर्ता पस्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको थियो । नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले प्रहरी र प्रशासनले सत्ताको आडमा कार्यकर्ता कुटपिट गर्नेहरूलाई उन्मुक्ति दिइरहेको आरोप लगाउनु भयो ।