INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिकाको कामकाज ठप्प हुँदा सेवाग्राही समस्यामा

व्यास गाउँपालिकाको कार्यालय, सुनसेरामा भदौ २६ गतेदेखि गरिएको तालाबन्दीका कारण गाउँपालिकाबाट प्रवाह गरिदै  आएका सेवाहरु ठप्प भएकाले आफूहरुले समस्या झेल्नु परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

गाउँसभाबाट पारित भएका पाँच ओटा योजनाहरु कार्यपालिकाको बैठकबाट रकमान्तर गरी ती योजनाहरु रद्द गरिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट वडाध्यक्ष र कार्यकर्ताहरुले भदौ २६ गतेदेखि गाउँपालिका कार्यालयमा तालाबन्दी गर्दा सेवाग्राहीहरु समस्यामा परेका हुन् ।

भदौ २६ गतेदेखि गाउँपालिकाको कार्यालयमा लगाइएको तालाबन्दीका कारण आफूले नागरिकताको सिफारिस पाउन नसकेको व्यास गाउँपालिका–४ का स्थानीय नरेन्द्र भट्टले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘गाउँपालिकाको १४ ओटै कक्षमा तालाबन्दी गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि क्षेत्रका कार्यक्रमका फारामहरु भर्न सकिएको छैन् । समयमै फाराम भर्न नपाइए रोजगारी गुम्ने चिन्ता छ । हामी काम गरेर खाने मजदुर हौँ । फारामको म्याद सकिन लागेको छ ।’

व्यास गाउँपालिका–४ का स्थानीय जगन्नाथ भट्टले कोरोनाका कारण स्थानीयहरुले रोजगारी गुमाइरहेको अवस्थामा गाउँपालिकामा लगाइएको तालाबन्दीका कारण झन समस्या उत्पन्न भएको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो – ‘तालाबन्दीका कारण गाउँपालिकाबाट पाउनु पर्ने सेवा सुविधा पाउन सकिएको छैन् । गाउँपालिकासँग यो वर्षको योजना सम्झौता हुँन नसक्दा स्थानीयले काम गुमाउनु पर्ने अवस्था आएको छ । समयमै योजना सम्झौता भएर काम अघि बढ्यो भने हातमुख जोर्न हुन्थ्यो । तर, तालाबन्दी कहिले खुल्छ अत्तोपत्तो छैन् ।’

गाउँपालिकामा भदौ २६ गतेदेखि तालाबन्दी गरिएपछि गाउँपालिकाले गर्नु पर्ने दैनिक कामकाज प्रभावित भएको र कर्मचारीहरुको दैनिक हाजिरी, दर्ता चलानी, उपभोक्ता समिति गठन तथा सम्झौताका कामहरु ठप्प भएको व्याँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले बताउनु भयो ।

व्याँस गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष उपेन्द्रसिह धामीले वडा कार्यालयका अधिकार कटौती गरेर गाउँपालिकाले एकलौटी निर्णय गरेपछि तालाबन्दी गर्नु परेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘योजनाको रकमान्तर गर्ने निर्णय फिर्ता लिनु पर्छ । वडा समितिको अधिकार कुण्ठित हुँने गरी बनाइएको उपभोक्ता गठन सम्बन्धी कार्यविधी २०७५ खारेज गरिनु पर्छ ।  कोभिडको बेला भएको खर्च पारदर्शी रुपमा सार्वजनिक गर्नु पर्छ । गाउँपालिकामा कार्यकर्ता भर्ना गर्ने कार्य रोकिनु पर्छ । यी माग पुरा नभएसम्म तालाबन्दी यथावत रहन्छ ।’

वडा नम्बर ३ कार्यालयले छनौट गरेका स्वयंसेविका पारिश्रमिक, तुसरपानी घोरेटो बाटो निर्माण, कृर्षि सहजकर्ता र टोल सुधार कृषक महिला योजना लगायतका कार्यक्रमहरुको व्याँस गाउँकार्यपालिकाको बैठकले शिर्षक परिवर्तन गरी रकमान्तर गर्ने निर्णय गरेको थियो ।

गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीले कार्यपालिका बैठकमा सहमतिमै योजनाको रकम रकमान्तर गर्ने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘गाउँपालिकामा लगाइएको तालाबन्दीका कारण स्थानीय सेवाग्राहीलाई समस्या भएको छ । ताला खुलाउने विषयमा छलफल भइरहको छ । छिट्टै समस्याको समाधान हुन्छ ।’

अन्य

भिडियो