चितवन राष्ट्रिय निकञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको कुटपिटको कारणबाट मृत्यु भएका चितवनको राप्ती नगरपालिका–२ का राजकुमार चेपाङको घटनाका सम्बन्धमा गरिएको स्थलगत अध्ययन प्रतिवेदन भदौ ३१ गते सार्वजकि गरिएको छ ।
इन्सेक, एड्भोकेसी फोरम र थर्ड एलायन्सले संयुक्त रूपमा गरेको स्थलगत अध्ययन प्रतिवेदन इन्सेक बागमती प्रदेश कार्यालयका संयाेजक कृष्ण गौतम र एडभोकेसी फोरमका ओमप्रकाश सेन ठकुरीले संयुक्त रूपमा प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेललाई हस्तान्तरण गरिएसँगै सार्वजनिक गरिएको हो ।
प्रतिवेदन ग्रहण गर्दै सभापति पोखरेलले निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले आफ्नो सीमा नाघेर यातना दिनु मानव अधिकारको उल्लङ्घन भएको बताउनुभयो । उहाँले यस किसिमका गैरन्यायिक घटनाहरू भविष्यमा हुन नदिन दोषीहरूमाथि कारबाही र पीडितहरूलाई क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
इन्सेक, एडभाेकेसी फोरम र थर्ड एलायन्सलगायत संस्थामा कार्यरत अधिकारकर्मीहरूको संयुक्त टोलीले राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक मुरारी खरेललाई उक्त प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै निर्देशक खरेलले पीडितलाई न्याय र पीडकलाई कारबाहीको दायरामा ल्याउने गरी सम्बन्धीत निकायलाई आयोगले निर्देशन दिने जानकारी दिनुभयो । उहाँले गैरन्यायिक हत्यामा संलग्नहरूमाथि कडा भन्दा कडा कारबाही गरे मात्र दण्डहीनताको अन्त्य हुने बताउनुभयो ।
राप्ती नगरपालिका-२ का राजकुमार चेपाङसहित सात जना स्थानीयहरू ०७७ साउन १ गते घोगी र निगुरो टिप्न निकञ्जभित्र प्रवेश गरेको आरोपमा निकुञ्जको सुरक्षार्थ खटिएका सेनाले उनीहरूलाई नियन्त्रणमा लिई कुटपिट गरेको घटनाको विषयमा तयार पारिएको सो प्रतिवेदन सरोकारवाला निकायमा हस्तान्तरण गरी सार्वजनिक गरिएको हो ।
प्रतिवेदनमा मृतक राजकुमारका बुवा विष्णुलाल, आमा आइतीमाया र पत्नी रिपुमाया, सोही घटनामा सेनाबाट यातना पाएका अन्य चार जना पीडितहरूका साथै स्थानीय जनप्रतिनिधिहरू, प्रहरी, सेना, मृतकको उपचारमा संलग्न स्वास्थ्यकर्मी र अधिकारकर्मीहरूको भनाइ समेटिएको छ ।
पीडितहरूका अनुसार सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिला बाहेक पाँच जना पुरुषहरूलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलाहरूलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको थियो ।
साउन १ गते यातना पाएपछि घर फर्किने बेलामा नै राजकुमार हिँड्न नसक्ने भएपछि दुई जनाले सहारा दिएर घर पुर्याएको पीडित सन्तोष तामाङले बताउनु भयो ।
अनुगमण टोलीले सेनाकै कुटाइबाट राजकुमारको मृत्यु भएको, आर्थिक अभावले समयमै उनको उपचार हुन नसकेको र भरतपुर अस्पतालका चिकित्सकहरूले अन्य घाइते पीडितहरूको स्वास्थ्य जाँचमा लापरवाही गरेको निष्कर्ष निकालेको छ । घटनामा दोषी देखिएकाहरूलाई नियमित प्रणालीबाटै कानुनी कारबाही गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ ।
प्रतिवेदन पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्

फोटो: सञ्जीवकुमार साह