धनुषाको मानव अधिकारकर्मीहरूको टोलीले भदौ २३ गते औरही गाउँपालिका, शहीदनगर नगरपालिका र कमला नगरपालिकाको क्वारेण्टाइन अनुगमन गरेको छ ।
इन्सेक धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंह, ओरेक नेपाल धनुषा संयोजक रोजलिन सिंह बछार, एड्भोकेसी फोरम नेपालका अधिकृत कुमारप्रसाद थपलिया, महिला मानव अधिकार रक्षक सञ्जाल धनुषा अध्यक्ष शिला झा र महिला अधिकारकर्मी सम्झना बर्माको टोलीले भदौ २३ गते क्वारेण्टाइन अनुगमन गर्दै स्थानीय स्वास्थ्य संयोजकसँग आगामी तयारीबारे जानकारी लिएको छ ।
अनुगमनको क्रममा शहीदनगर नगरपालिका–३ स्थित श्री जनता इकाइ प्राविधिक माध्यमिक विद्यालय यदुकोहामा तीन जना युवा क्वारेण्टाइनमा बस्दै आएको क्वारेण्टाइन संयोजक तथा उपमेयर शिलादेवी कापरले बताउनु भयो ।
शहीदनगर नगरपालिकामा चैत १८ गतेदेखि सञ्चालित क्वारेण्टाइनमा भदौ २३ गतेसम्म १२ जना महिलासहित ४ सय ८५ जना व्यक्ति बसेको उपमेयर कापरले बताउनु भयो ।
होम क्वारेण्टाइनमा बसेकाहरूसमेत गरी १३ जना महिलासहित ४ सय ४३ जनाको पीसीआर परीक्षण गरिएकोमा एक महिलासहित ५५ जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको थियो ।
सङ्क्रमित सबै जना उपचारपछि घर फर्किसकेको शहीदनगर नगरपालिकाका स्वास्थ्य संयोजक कपिलदेव अधिकारीले अनुगमन टोलीलाई बताउनु भयो ।
कमला नगरपालिकामा चैत २० गते २५ बेडबाट सुरू गरिएको क्वारेण्टाइनमा पछिल्लो समय थप गरिएका सात ओटा क्वारेण्टाइनसमेत बाट २ सय ८४ जनालाई राखेको स्वास्थ्य संयोजक सत्यनारायण ठाकुरले अनुगमन टोलीलाई बताउनु भयो ।
कमला नगरपालिकाले श्री राष्ट्रिय आधारभुत विद्यालय सरावेलाई क्वारेण्टाइनस्थलको रूपमा सम्पूर्ण बन्दोवस्तका साथ राखिएको भएपनि भदौ २३ गते सो क्वारेण्टाइनमा शङ्कास्पद व्यक्तिहरू नरहेकोे स्वास्थ्य संयोजक ठाकुरले बताउनु भयो ।
क्वारेण्टाइनमा रहेका २ सय ८४ जनामध्ये नौ जनालाई पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकोमा सबै जना निको भएर घर फर्किएको स्वास्थ्य संयोजक ठाकुरले बताउनु भयो ।
औरही गाउँपालिकाले वडा नं. १ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहीयामा क्वारेण्टाइनस्थल तयारी अवस्थामा राखेको छ ।
भदौ २३ गते क्वारेण्टाइनमा शङ्कास्पद व्यक्तिहरू नरहेको स्वास्थ्य संयोजक अशोक यादवले बताउनु भयो ।
औरही गाउँपालिकामा चैत १८ गतेदेखि सुरु भएको ५० वेडको क्वारेण्टाइनमा साउन ३२ गतेसम्म १ सय ८६ जनालाई राखेको क्वारेण्टाइन इञ्चार्ज जनस्वास्थ्य अधिकृत फेकन यादवले बताउनु भयो ।
हाल क्वारेण्टाइनमा कोरोना शङ्कास्पद व्यक्तिहरू नरहेको अधिकृत यादवले अनुगमन टोलीलाई बताउनु भयो ।
औरही गाउँपालिकामा पीसीआर परीक्षणमा ११ जना कोरोना भाइरसका सङ्क्रमित देखिएकोमा सबै जना निको भएर घर फर्कि सकेको जनस्वास्थ्य अधिकृत फेकन यादवले बताउनु भयो ।




