कानेपोखरी गाउँपालिका–५ की २३ वर्षीया सविना थापा (दर्जी)को उपचार नपाएकै कारण भदौ १६ गते राति ज्यान गएको पीडित परिवारले आरोप लगाएको छ ।
परिवारका सदस्यले विराटनगरका नोबेल अस्पताल, विराट शिक्षण अस्पताल, विराट नर्सिङ होम एवम् विराटनगर अस्पताल, ग्रीनक्रस अस्पताल, कोशी अस्पताल, सुरक्षा अस्पताल लगायतका अस्पताल उपचारका लागि पुर्याएका थिए । सात ओटा अस्पताल पुर्याउदा पनि सात महिनाकी गर्भवती उहाँको उपचारका लागि कोरोना भाइरसको बहानमा अस्पतालले भर्ना नलिएपछि उपचार नपाएरै मृत्यु भएको पीडित पविारको भनाइ छ ।
एम्बुलेन्समा राखेर रातभर विभिन्न अस्पताल पुर्याए पनि कुनैले उपचार गर्न नमानेको मृतककी आमाजू ३५ वर्षीया दुर्गा सुन्दासले बताउनु भयो । ‘धेरै अस्पतालहरूले आईसीयू र भेन्टिलेटर नभएको बहाना बनाए,’ उहाँले भन्नुभयो, ‘कुनैले कोरोना त्रासका कारण नयाँ बिरामी भर्ना गर्दैनौं भन्ने जवाफ दिए ।’
विराटनगरका अस्पतालहरूमा उपचार नपाएकी सविनालाई भदौ १६ गते बिहान अढाई बजे एम्बुलेन्समा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको सुन्दासले बताउनु भयो ।
मृतकका बुबा ५६ वर्षीय चन्द्र थापाले उपचार पाउने आशामा अस्पताल घुमाउँदा घुमाउँदै छोरीले मृत्युवरण गर्नु परेको बताउनु भयो । उपचारका लागि लागिएका अस्पतालले अस्वीकार गर्दा सात महिनाकी गर्भवती छोरी गुमाउनु परेको उहाँले गुनासो गर्नुभयो ।
नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले आईसीयू खाली नभएकाले नयाँ बिरामी भर्ना गरेर उपचार गर्न सक्ने अवस्था नभएको बताउनुभयो । ‘आईसीयूका कारण बिरामीलाई भर्ना लिन सकिएको छैन,’ उहाँले भन्नुभयो, ‘अर्कातिर कोरोना भाइरसको त्रासका कारण नयाँ बिरामीको उपचार गर्न डाक्टर पनि डराउँछन् ।’
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भदौ १६ गते विराटनगरका सबै अस्पतालका सञ्चालक र चिकित्सकलाई छलफलमा बोलाएर उपचार नपाएर बिरामीको मृत्यु भएमा कारबाही अघि बढाउने जानकारी गराउनु भएको छ ।
मृतकको पोष्टमार्टम मङ्गलबारे अस्पतालमा भदौ १८ गते गरिएको छ ।
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।