वीरेन्द्रनगरस्थित हेराइजन एकेडेमी कक्षा नौ मा अध्यनरत १३ वर्षीया छात्रा समीक्षा आचार्यको उपचारमा ढिलाइको कारण मृत्यु भएको निष्कर्ष नागरिकस्तरबाट गठित छानबिन समितिले सार्वजनिक गरेको छ ।
इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापाको संयोजकत्वमा गठित समितिले पुस ५ गते साँझ पत्रकार सम्मेलनमार्फत उक्त निष्कर्ष सार्वजनिक गरेको हो ।
कर्णाली एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका दिन गत मङ्सिर २३ गते र्यालीमा सहभागी हुँदा समीक्षाको मृत्यु भएको घटना सम्बन्धमा मङ्सिर २८ गते नागरिक स्तरबाट छानबिन समिति गठन भएको थियो । समितिको प्रतिवेदनमा मेला आयोजक सुर्खेत उद्योग वाणिज्य सङ्घको कमजोर र्याली व्यवस्थापन, प्याब्सन सुर्खेत र जिल्ला शिक्षा कार्यालयले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को ६ (२) मा गरिएको प्रावधानलाई उपेक्षा गरेको कारण बालिकाको मृत्यु हुनुमा प्रत्यक्ष भूमिका रहेको उल्लेख छ ।
घट्नास्थलको स्थलगत अनुगमनका साथै सरोकारवाला सबैपक्षसँग भेटघाट तथा समीक्षा मृत्यु घटनाको बारेमा प्रकाशित समाचार, लेख तथा विज्ञप्तिहरूको समेत अध्ययन गरी तयार पारिएको प्रतिवेदनमा कुनैपनि अवस्थामा र्यालीलगायत बालबालिकालाई अन्य गतिविधिमा सहभागी नगराउने, शैक्षिक क्रियाकलाप भएपनि बाहिर सहभागी गराउँदा जिल्ला शिक्षा कार्यालयको अनुमति लिनुपर्ने र आफ्नो विद्यालयमा अध्यनरत सबै विद्यार्थीहरूको विद्यालयले शिक्षा र स्वास्थ्यको व्यक्तिगत विवरण राख्नुपर्ने लगायतको सात बुँदे सुझाव समेत दिइएको छ ।
र्यालीमा सहभागी हुँदा वीरेन्द्रनगर नपा-६ गणेशचोकमा बेहोस भएपछि २० मिनेटसम्म कतै नलगिएको र त्यसपछि मात्र समीक्षालाई नजिकै रहेको देउती नर्सिङ् होममा उपचार गर्न लगिएको थियो । नर्सिङ होम पुर्याए लगत्तै डा. सविना श्रेष्ठले उनको मृत्यु भइसकेको जानकारी गराएकी थिइन् ।
छानबिन समितिमा जिल्ला बार इकाइ सुर्खेतका अध्यक्ष नन्द भण्डारी, नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारती, उच्च अदालत बार एशोसियसनका कौशिला योगी, सिविन नेपाल सुर्खेतकी संयोजक शुभेच्छा खड्का र मानव अधिकार तथा एकल महिला समूहकी केन्द्रीय सदस्य रामकुमारी थापा सदस्य रहेका थिए ।