INSEC Online

📅 २०८३ जेष्ठ २१

द्वन्द्वकालीन अपराधमा क्षमादान दिन नमिल्ने भनी सर्वोच्चले गरेको आदेशको इन्सेकद्वारा स्वागत

द्वन्द्वकालीन गम्भीर अपराधमा क्षमादान दिन नमिल्ने भनी सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको आदेशलाई निरन्तरता दिएकामा इन्सेकले स्वागत गरेको छ ।

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा वैशाख १६ गते प्रेस विज्ञप्ति जारी गर्दै सो आदेशको स्वागत गरिएको हो ।

नेपाल सरकारका तर्फबाट माग गरेको पुनरावलोकनको निवेदन सर्वोच्च अदालतले वैशाख १४ गते खारेज गरेको छ ।

‘यस सन्दर्भमा इन्सेकले सशस्त्र द्वन्द्वकालीन मुद्दामा क्षमादान हुन नसक्ने भनी विभिन्न माध्यमबाट निरन्तर आफ्नो धारणा राख्दै आएको स्मरण गराउन चाहान्छौँ ।’–विज्ञप्तिमा भनिएको छ ।

द्वन्द्वकालीन मुद्दामा मेलमिलाप जबरजस्ती लाद्न नसकिने, पीडितको आत्मसम्मानमा चोट पुग्ने गरी मेलमिलाप हुन नहुने र गम्भीर मानव अधिकार उल्लङ्घनका दोषीहरूलाई आममाफी दिनेगरी मेलमिलापलाई माध्यमका रूपमा प्रयोग हुन नसक्ने भन्दै मानव अधिकार उल्लङ्घनकर्तालाई कारबाहीको सुनिश्चितता हुने कानुन बनाउन माननीय न्यायाधीशहरू कल्याण श्रेष्ठ, वैद्यनाथ उपाध्याय र चोलेन्द्रशमशेर जबराको इजलासले ०७१ फागुन १४ गते सरकारका नाममा परमादेश जारी गरेको थियो ।

उक्त परमादेश उल्ट्याउन माग गर्दै सुशील कोइराला नेतृत्वको सरकारले ०७२ साउन ११ गते सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएको थियो ।

नेपालको सङ्क्रमणकालीन न्यायका सवालमा कोशेढुङ्गा मानिएको उक्त परमादेशलाई उल्ट्याउने सरकारी प्रयासलाई सर्वोच्च अदालतका माननीय न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको बृहत् पूर्ण इजलासले खारेज गरेको हो ।

‘नेपालले मानव अधिकारका सम्बन्धमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको परमादेश र विस्तृत शान्ति सम्झौताका प्रावधानहरुका आधारमा गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा कुनै पनि तवरबाट माफीमिनाह हुन नसक्ने हाम्रो ठहर छ ।’–विज्ञप्तिमा उल्लेख छ ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनसम्बन्धी ऐनलाई सर्वोच्चको पुरानै आदेश बमोजिम संशोधन गर्नुपर्ने बाध्यात्मक अवस्था भएकाले उक्त ऐनको संशोधन प्रक्रिया तत्काल प्रारम्भ गर्न इन्सेकले सरकार तथा राजनीतिक दलहरूसँग मागसमेत गरेको छ ।

अन्य

भिडियो