INSEC Online

📅 २०८३ जेष्ठ २१

रहस्यमय मृत्युको छानबिनका लागि इन्सेक प्रतिनिधिको नेतृत्वमा समिति गठन

उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा आयोजित कर्णाली एक्स पो अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन भएको दिन मङ्सिर २३ गते र्‍यालीमा सहभागी १६ वर्षीया बालिका समीक्षा आर्चायको रहस्यमय मृत्यु भएको घटनाको छानविनका लागि इन्सेक प्रतिनिधिको नेतृत्वमा समिति गठन भएको छ ।

पुनरावेदन वार इकाई सुर्खेतको पहलमा नागरिक समाज, अधिकारकर्मी, कानुन व्यावसायी र सञ्चारकर्मीको उपस्थितिमा मङ्सिर २७ गते बसेको बैठकले नागरिक स्तरबाट गठन गरेको छानबिन समितिले घटनाको छानबिन गर्ने भएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतका जिल्ला प्रतिनिधि दुर्गा थापाको संयोजकत्वमा गठित समितिमा नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारती, जिल्ला बार इकाई सुर्खेतका अध्यक्ष नन्द भण्डारी, पुनरावेदन बार इकाईका कौशिला योगी, मानव अधिकार तथा एकल महिला समूहकी रामकुमारी थापा र सिविन नेपालका शुभेच्छा खड्का रहेका छन् ।

समितिले बालिका आचार्यको मृत्यु घट्नाको सत्यतथ्य पत्ता लगाई आवश्यक छानबिनको लागि पहल गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने भएको छ । वीरेन्द्रनगरस्थित सुर्खेत होराइजन एकेडेमीमा कक्षा नौ मा अध्ययनरत बालिका आचार्यको र्‍यालीमा सहभागी हुँदा बेहोस भए लगत्तै सुर्खेतमा उपचार हुन नसकेपछि शिक्षण अस्पताल कोहलपुरमा लैजाने क्रममा मङ्सिर २३ गते मृत्यु भएको थियो ।

अन्य

भिडियो