विश्वमा महामारीको रुपमा फैलिँदै गएको कोभिड–१९ विरुद्ध लड्न सचेतनाको खाँचो रहेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।
नेपाल सरकारले गरिरहेको तयारी, महामारीबाट फैलिरहेको संन्त्रास तथा जीवनको अधिकारको रक्षाको सम्बन्धमा आयोगले २०७६ चैत ६ गते नेपाल सरकार, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूसँग छलफल गरी उक्त धारणा सार्वजनिक गरेको हो ।
छलफलमा सरकारले कोभिड–१९ विरुद्ध लड्न गम्भीरतापूर्वक आवश्यक तयारी गरिरहेको जनाइएको छ । देशका विभिन्न नाकाहरूमा आवश्यक सतर्कता र स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको जनाउँदै नेपाल सरकारका प्रतिनिधिहरूले नागरिकको सचेतना, सरसफाइ र जिम्मेवारीबोध नै यस विरुद्ध लड्ने महत्वपूर्ण औजार रहेको बताउनु भएको छ । छलफलका क्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले यस सम्बन्धमा २०७६ चैत ५ गते गरेको निर्णयलाई सकारात्मक रुपमा लिंदै नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।
उहाँले सरकारका निर्णयहरू प्रभावकारी रुपमा कार्यान्वय हुने अपेक्षा रहेको बताउनु भएको छ । छलफलमा आयोगका सदस्य द्वय प्रकाश वस्ती र गोविन्द शर्मा पौड्यालका साथै गृह मन्त्रालयका प्रवक्ता तथा सह सचिव केदारनाथ शर्मा, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख सागर दाहाललगायत आयोगका कर्मचारीहरूको उपस्थिति रहेको आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।