INSEC Online

📅 २०८३ जेष्ठ २१

द्वन्द्वका क्रममा बेपत्ता पारिएकाहरूको सूची सार्वजनिक

सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका २ हजार ५ सय ६ जनाको सूचि सार्वजनिक गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूको सूची ०७६ चैत ४ गते सार्वजनिक गरेको हो ।

बेपत्ता व्यक्ति बारे कुनै सूचना या प्रमाण भएमा त्यसबारे जानकारी गराउन पनि आयोगले सार्वजनिक आह्वान गरेको छ । सशस्त्र संघर्षको १३ वर्षपछि सरकारद्वारा गठित आयोगले पहिलो पटक बेपत्ता पारिएका व्यक्तिको नाम सार्वजनिक गरिएको आयोगका सूचना अधिकारी निराजन घिमिरेले बताउनु भयो ।

बेपत्ता पारिएका व्यक्तिबारे दर्ता भएका उजुरीका आधारमा नाम सार्वजनिक गरिएको आयोगले जनाएको छ । आयोगको अघिल्लो नेतृत्वले नै बेपत्ता पारिएका व्यक्तिबारे उजुरी आह्वान गरेको थियो ।

आयोगका अनुसार, राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जना व्यक्तिका बारे उजुरी परेको थियो । यी मध्ये बर्दियाबाट सबैभन्दा धेरै २ सय ५४ जनाले आफन्तको खोजखबर गरिदिन माग गर्दै आयोगमा निवेदन दिएका छन् ।

आयोगले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएको व्यक्तिहरूको बारेमा ११ वटा जिल्लाहरू रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, बझाङ, बाजुरा, दार्चुला, हुम्ला, जुम्ला, मुगु, डोल्पा र  कालिकोट र रोल्पा मध्ये रोल्पाबाट बेपत्ता पारिएका ९७ जनाको विस्तृत अनुसन्धान सकिएको आयोगले जनाएको छ । यस क्रममा रुकुमबाट भने ४५ जना बेपत्ता भएको भन्दै उजुरी परेको छ ।

बर्दियापछि दाङबाट सबैभन्दा धेरै उजुरी परेको छ । आयोगका अनुसार, दाङबाट १ सय २८ जना बेपत्ताको सूचीमा छन् । त्यस्तै, कञ्चनपुरबाट ७७, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०/४० जना बेपत्ता भएको उजुरी परेको छ । काठमाडौँबाट ३२ र कालिकोटबाट २४ जना बेपत्ताको सूचीमा छन् ।

बेपत्ता भएको भन्दै आयोगमा उजुरी दिनेको नाम भने उसले गोप्य राखेको जनाएको छ । बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भएमा त्यसबारे जानकारी गराउन आग्रह गरिएको आयोगका सूचना अधिकारी घिमिरेले बताउनु भयो ।  त्यसका लागि आयोगको टोल फ्री नम्बर १६६०–०१–२२१११ मा सम्पर्क गरेर या सिधै पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको भवनमा रहेको आयोगको कार्यालयमा गएर सूचना दिने व्यवस्था मिलाएको बताइएको छ ।

आयोगका सूचना अधिकारी घिमिरेका अनुसार, प्रमाण उपलब्ध गराउने समय तोकिएको छैन । आफ्नो अनुकूल समयमा त्यस्ता प्रमाणहरू पठाउन सकिने आयोगले जनाएको छ । आयोगले बिस्तृत अनुसन्धानका लागि पीडित र साक्षि बुझ्न र उनीहरूसँग बयान लिने छ भने एन्टिमोटम तथ्याङ्क फाराम भराउनुका साथै सर्जमिन मुचुल्का गर्ने जनाएको छ ।

अन्य

भिडियो