नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वाच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनि स्पष्ट ब्यवस्था गरिएको भएता पनी जिल्लाको सदरमुकाम सिलगढी लगायत आसपासका गाउँहरूका स्थानीयहरूले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन् ।
खानेपानीको अभावका कारण वर्षौदेखि आफूहरूले समस्या झेल्दै आइरहेको दिपायल सिलगढी नगरपालिका – ६ सिलगाउँका ३२ वर्षीय श्याम बोहराले गुनासो गर्नु भयो ।
सिलगढी बजार लगायत आसपासका गाउँका स्थानीयले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएको भए पनि सरोकारवाला पक्षले ध्यान दिन नसकेको दिपायल सिलगढी नगरपालिका – ५ इन्द्रचोकका असोक छेलरको आरोप छ ।
दिपायत सिलगढी नगरपालिका – ६ स्थित जिल्ला अस्पतालमा खानेपानी अभावले गर्दा सुत्केरी भएकी महिलालाई सरसफाई गर्नको लागि समस्या हुने गरेको अस्पतालका नर्स देबी शाहीले गुनासो गर्नु भयो ।
धारामा कहिले काही मात्रै पानी आउने गरेका कारण सिलगढी बजारबाट आधा घण्टाको दुरीमा रहेका थाप्लाधारा र रानधारामा पालो कुरेर खानेपानी बोक्नु पर्ने बाध्यता वर्षौदेखि झेल्नु परेको स्थानीय ४२ वर्षीया लालीदेबी बोहराले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो – ‘फागुन चैत शुरू भएदेखि खानेपनीको चरम समस्या उत्पन्न हुन्छ । वर्षातको समयमा झनै समस्या हुने गरेको छ । लुगा धुनका लागि सिलगढीबाट गाडी भाडा तिरेर दिपायलस्थित द्वारी खोलामा जानु पर्ने बाध्यता छ ।’
जिल्ला सदरमुकाममा जनसंख्या अत्याधिक भएको र जनसंख्या अनुसारको खोनीपानीको आपुर्ति न्यून हुने गरेका कारण स्थानीय तथा सर्वसाधारणलाई वर्षौदेखि खोनीपनीको समस्या हुने गरेको होटेल ब्यवसायी रघुनाथ जोशीले बताउनु भयो ।
सिलगढीमा आउने पानीको पाइपलाइन पुरानो भएको र ठाउँठाउँमा चुहीने गरेका कारण खानेपानीको समस्या बढदै गएको खानेपानी वितरक चौकीदार कर्ण बोहराले बताउनु भयो ।
दिपायल सिलगढी नगरपालिकामा रहेको सिलगढी बजार र आसपासका करिव ३ हजार घरधुरीले प्रत्येक वर्ष खानेपानीको समस्या झेल्दै आएका दिपायल सिलगढी नगरपालिका – ५ पुन्नाकी ३० वर्षीय देउसरा भट्टको गुनासो रहेको छ ।
उहाँले भन्नु भयो – ‘खानेपानी समस्याका कारण बालबालिकालाई विद्यालय पठाउन तथा समयमै सरसफाइ गर्न समेत समस्या हुने गरेको छ ।’
सिलगढी खानेपानी उपभोक्ता समितिका अध्यक्ष गणेशप्रशाद जोशीले सायल गाउँपालिका स्वाँडामा रहेको खोलाबाट इन्टेक बनाएर सिलगढी लगायतका आसपासका गाउँमा खानेपानीको ब्यवस्था गर्ने प्रयास भएको र करिब ५०÷६० वर्ष पहिलेदेखि नै निर्माण भएको सो योजना अहिले जिर्ण रहेको हुदाँ खानेपानीको समस्या हुने गरेको बताउनु भयो ।
उहाँले भन्नु भयो – ‘निर्माण कार्यको लागि केन्द्र , प्रदेस र स्थानीय सरकारलाई अनुरोध गरिएको छ । छिट्टै समस्या समाधान हुने आश्वासन पाएको छु ।’
बिगत लामो समयदेखि सिलगढी लगाएतका आसपासका गाउँहरूका स्थानीयहरूले खानेपानीको समस्या झेल्दै आएपछि समस्या समाधान गर्नको दिपायल सिलगढी नगरपालिकालाई अनुरोध गरिएको र केन्द्र सरकारसँग बृहत खानेपानी योजनाको लागि माग गरिएको सिलगढी खानेपानी कार्यालयका प्रमुख राम धामीले बताउनु भयो ।
बृहत खानेपानी योजनाका लागि आर्थिक वर्ष ०७५ / ०७६ का लागि केन्द्र सरकारबाट १२ करोडको योजना पास भइसकेकोले आगामी दिनमा खानेपानीको समस्याबाट स्थानीयले सास्ती व्यहोर्नु नपर्ने र खानेपानीको समस्या पूर्ण रूपमा समाधान हुने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासिले बताउनु भयो ।
