अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को नारायण नगरपालिका स्तरीय मानव अधिकार समूहले दैलेख जिल्ला अस्पतालले लिने गरेको शव परीक्षण अर्थात पोष्टमार्टम कार्य शुल्क सबै सेवाग्राहीहरुका लागि निशुल्क गराउन सरोकारवाला निकायको ध्यानाकर्षण गरेको छ ।
समूहका संयोजक रेखा थापाको नेतृत्वमा गएको समूहले जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्री र प्रहरी इन्स्पेक्टर नैनबहादुर सावदलाई उहाँहरुको कार्यालयमा पुगी ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षपत्र ग्रहण गरेपछि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्री र इन्स्पेक्टर नैनबहादुर सावदले निशुल्क गराउनेमा आफूहरुले नीतिगत निर्णय गराउने प्रतिवद्धता जनाएका छन् ।
हत्या, आत्महत्या, विपद जस्ता घटनाबाट पीडितहरुका परिवारबाट शुल्क लिनु नेपालको संविधानको धारा ३५ को स्वास्थ्य सेवा सम्वन्धी अधिकारको विपरीतका कार्य भएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
देशभर काहीं पनि शव परीक्षणको शुल्क मृतकको परिवारलाई नतिराउने तर दैलेख जिल्ला अस्पतालमा मात्र शव परीक्षण शुल्क ३ हजार रुपियाँ लिने गरेको कारण सरोकारवाला निकायको ध्यानाकर्षण गराउदै निशुल्क गर्न डेलिगेसन जानुपरेको इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले बताउनुभयो ।
डेलिगेसनमा गैसस महासंघका जिल्ला सदस्य भरतराज अधिकारी, नेपाल शिक्षक संघका जिल्ला सभापति कृष्णबहादुर थापा, अधिवक्ता यमराज थापा, सुन्दर नेपाल संस्थाका यज्ञराज थापा, पत्रकारद्वय भक्त शाही र यमराज बिष्ट सहभागी थिए ।
