२३ वर्षीया पत्नी रत्ना रावतलाई हत्या गरेको घटनामा सुर्खेतको लेकबेसी नपा–८ साटाखानीका ३० वर्षीय नवलसिंह बिरकट्टालाई दैलेख जिल्ला अदालतले २० वर्ष कैद र एक लाख रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट फागुन २२ गते उक्त फैसला भएको अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिनुभयो । हत्या गरिएकी रत्नाका नजिकका आफन्तले क्षतिपूर्ति रकम पाउने आचार्यले बताउनुभयो ।
चार वर्ष अघि माइतीगाउँ चामुण्डाका स्थानीय युवासँग विवाह गरी भारतको गढवाल पुगेकी रत्नालाई उहाँको अघिल्लो पतिसँगै मजदूरी गर्ने नवलसिंहले त्यहाँबाट भगाएर ६ महिना सिम्लामा राखेर सुर्खेतको साटाखानी पु¥याएका थिए । विवाह भएको दोश्रो वर्षमै दोश्रो पत्नी भित्र्याएपछि दम्पतिबीच असमझदारी बढ्दै गरेको थियो ।
चामुण्डाबिन्द्रासैनी नपा–३ पिङडाँडास्थित माइतीघर आएको तेश्रो दिन ०७६ जेठ ९ गते गोठाला गएको मौका पारी चामुण्डाबिन्द्रासैनी नपा–१ काफलगैरामा नवलसिंहले हत्या गरेको प्रहरी अनुसन्धान र घटना प्रकृतिले पुष्टी गरेको अदालतको फैसलामा उल्लेख छ ।
घटनाको दोश्रो दिन नवलसिंहले रत्नाको शव काफलगैरामा रहेको भनी नेपाल भारतको सीमाना रुपैंहिडिया पुगेर टेलिफोनमा खवर छोडेको आधारमा खोजी गर्दा मृत शरीर फेला परेको थियो । शवको पोष्टमार्टम दुल्लू अस्पतालमा भएको थियो । शव परीक्षण प्रतिवेदनमा घाँटी थिची हत्या गरेको उल्लेख छ ।
पीडित पक्षले जेठ ११ गते कर्तव्य ज्यान अर्थात हत्या आरोपमा उजूरी दिएको थियो । सो उजूरीका आधारमा आरोपितलाई प्रहरीले भारतीय प्रहरीको सहयोगमा असार ३ गते भारतको सिमलाबाट गिरफ्तार गरेको थियो ।
सो मुद्दामा प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकील कार्यालयमार्फत असार २३ गते दैलेख जिल्ला अदालतमा पेश गरेकोमा त्यही दिन भएको थुनछेक आदेशमा अदालतले नवलसिंहलाई पूर्पक्षका लागि दैलेख कारागार पठाएको थियो ।
आरोपितको प्रतिरक्षाका निम्ति दैलेख जिल्ला अदालतका वैतनिक वकील सर्वराज जोशी र पीडित पक्षको तर्फबाट जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेलले बहस गर्नुभएको थियो ।