इलामका सूर्योदय नगरपालिका, फाकफोकथुम गाउँपालिका र माइजोगमाइ गाउँपालिकाले गएको कात्तिक महिनायताको तलब नखुवाएको शिक्षकहरूले गुनासो गरेका छन् ।
चार वटा पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले कात्तिक महिनायता देखिको तलब पालिकाबाट निकासा भएको बताएका छन् ।
‘शिक्षा ऐनमा शिक्षकहरूलाई मासिक रूपमा तलब दिनुपर्ने व्यवस्था छ, तर हामीले कात्तिक महिनायता तलब पाएका छैनौं’ माइजोगमाइ–५ स्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षक शम्भु ढकालले भन्नुभयो ‘चार महिना देखिको तलब रोकिँदा गर्जो टार्न र घर व्यवहार चलाउन सकस भएको छ ।’मासिक रूपमा पाउनुपर्ने तलब समयमा नपाउँदा समस्या भएको नेपाल शिक्षक सङ्गठन इलामका अध्यक्ष राजेन्द्र चौहानले बताउनु भयो ।
शिक्षा शाखामा कर्मचारी कम हुँदा र शिक्षा शाखाका काम आफू एक्लैले गर्नुपर्दा शिक्षकहरूलाई तलब निकासा गर्न ढिलो भएको सूर्योदय नगरपालिका शिक्षा शाखाका अधिकृत योगनिधि भट्टराईले बताउनु भयो । ‘अहिले तलब निकासाको सबै काम पुरा गरेर लेखामा पठाइकेको छु,’ भट्टराईले भन्नुभयो ‘करिब पाँच सय शिक्षकको तलब निकासा तयारी गर्न समय लाग्छ ।’ तर, सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले कर्मचारी कम भएका कारण शिक्षकको तलब निकासामा ढिलो नभएको बताउनुभयो ।
‘विद्युतीय हाजिरीको व्यवस्था २८ ओटा विद्यालयमा गरिएको छ, तर शिक्षकहरूले विद्युतीय हाजिरी नगरी पेपरमा टाइमसिट बनाएर पेश गरेका छन्,’ राईले भन्नुभयो ‘शिक्षकले किन यसो गरे भन्नेमा बुझ्नुपर्ने भएकाले तलब निकासामा ढिलाई भएको बताउनुभयो ।
नगरपालिकाले विद्यालयमा विद्युतीय हाजिरी जडान गरेर शिक्षकहरूलाई बिहान दश बजे र बेलुका चार बजे औंला दबाएर हाजिरी गर्न अनिवार्य गराएको मेयर राईले बताउनुभयो ।
माइजोगमाइ र फाकफोकथुममा पनि कर्मचारी अभावकै कारण तलब निकासामा ढिलाई भएको ती पालिकाकाले जनाएका छन् ।
माइजोगामाई गाँउपालिका अध्यक्ष जीतबहादुर राईले नगरपालिका कार्यालयमा प्रमुख जिम्मेवारीमा रहेका कर्मचारी परिवर्तन हुनुले तलब निकासामा ढिलाई भएको बताउनु भयो । ‘पहिलाका कर्मचारी बिदामा भएका बेला विदेश गएछन्, उहाँको सरूवा भयो, तर विदेशबाट फर्किएका छैनन्, उहाँले रमना नलिई, नयाँ आउने कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएको छ ।’ राईले भन्नुभयो–‘अब चाँडै तलब निकासाको व्यवस्था मिलाउँछौं ।’
माइजोगमाईमा आधारभूत तहदेखि मावि तहसम्म राहत र स्थायी गरी १ सय ९१ जना शिक्षक कार्यरत छन् ।
फाकफोकथुममा आधारभूत तहदेखि मावि तहसम्म राहत र स्थायी गरी २ सय १८ शिक्षक कार्यरत छन् । त्यसैगरी सूर्योदय नगरपालिकामा आधारभूत तहदेखि मावि तहसम्म राहत र स्थायी गरी ३ सय ९४ जना शिक्षक कार्यरत छन् ।