समलिङ्गी विवाहलाई मान्यता दिन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले माग गरेका छन् ।
नेपालको संविधानमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पहिचानलाई स्वीकार गरिसकेको अवस्थामा समलिङ्गी तेस्रोलिङ्गीबीच हुने विवाहलाई पनि मान्यता दिनुपर्ने माग गरेका हुन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायभित्र गरिने विवाह (इक्वेल म्यारिज) को कानुनी व्यवस्था गरिए उक्त समुदायका व्यक्तिहरूले न्याय पाउन सक्ने भन्दै यस्तो माग गरिएको यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकारकर्मी भारती थापाले बताउनुभयो ।
लामो लडाईपछिसँगै बस्न पाउने कानुन बन्यो तर, उक्त कानुनको आधारमा मात्रै वैवाहिक मान्यता पाएन, सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यकबीच हुने विवाहलाई मान्यता दिनुपर्यो अधिकारकर्मीहरू पिटर तामाङले इन्सेक जिल्ला प्रतिनिधिसँगको भेटमा भन्नुभयो ।
यसबारे प्रश्न गर्दा हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रबन्धक भीमप्रसाद तिमल्सिनाले समाजको सोचमा परिवर्तन आउन समय लाग्ने भन्दै समाज परिवर्तनसँगै नकारात्मक सोचहरूको पनि अन्त्य हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरी भण्डारीले प्रहरीले न्याय दिलाउने सवालमा लैङ्गिक हिसाबले सवैलाई समान व्यवहार गरेको बताउनुभयो । नीलहीरा समाज मकवानपुर कार्यक्रम संयोजक सुरज किरणले सवैको साथ र सहयोगबाट मात्र अधिकार प्राप्तिको लडाईमा सफलता पुग्ने बताउनुभयो ।