खानेपानीको अभावका कारण वर्षौदेखि आफूहरूले समस्या झेल्दै आउनु परेको सुर्नया गाउँपालिका – ६ धुलिधारका स्थानीयहरूले गुनासो गरेका छन् ।
गाउँमा खानेपानीको अभाव भएदेखि गाउँबाट आधाघण्टाको दुरीमा रहेको मुहानबाट खानेपानी बोक्नु पर्ने बाध्यता वर्षौदेखि झेल्नु परेको स्थानीय हरिना अवस्थीले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो – ‘हिउँदेयाम शुरू भएलगत्तै खानेपानीकै चिन्ता हुन्छ । हाम्रो बस्तीमा वर्षा नहुँदासम्म खानेपानीको निकै समस्या हुन्छ । वर्षातमा बलेसीको पानीले जोहो गर्दै आएका छौँ । हिउँदमा नजिकको कुवाँमा सुख्खायाममा पानी सुक्ने भएकोले टाढाको मुहानबाट ४० लिटरको ग्यालिनमा पानी बोक्नुपर्ने बाध्यता छ ।’
गाउँमा खानेपानीको सुविधा नहुँदा घरको एक जनाले खानेपानीका लागि खटिनु पर्ने बाध्यता रहेको स्थानीय भागरथी अवस्थीले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो ‘पानीको ग्यालिन बोक्दा–बोक्दा टाउको खुइलिसक्यो । तर,हाम्रो समस्या कसैले हेरेनन् । हामीले खानेपानीका लागि वर्षेनी भौतारिनु परेको छ । गाउँमा खानेपानीको अभाव हुँदा यहाँका महिलाहरूले बढी समस्या भोग्नु परेको छ । ’
यहाँका अधिकाङ्स परिवारको पानीको जोहो गर्ने जिम्मा महिलाको भएकाले खानेपानीको अभाव हुँदा अन्य भन्दा महिलाहरूलाई बढी समस्या हुने गरेको सुर्नया गाउँपालिका– ६ की करिष्मा अवस्थीले बताउनु भयो ।
निर्वाचनका बेला सबै नेताले गाउँमा खानेपानी पुर्याउने आश्वासन दिएका भए पनि पहल कतैबाट नभएको स्थानीय यज्ञराज अवस्थीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो –‘निर्वाचनका बेला नेता चिल्ला भाषण दिन्छन् । सोझासाझा नागरिकबाट फाइदा निकाल्छन् । खानेपानी जस्तो आधारभूत कुरामा पहुँच पुर्याउन आग्रह गरे पनि कसैले सहयोग गर्दैनन् । नेताहरू जितेपछि गाउँमै आउँदैनन् ।’
सुर्नया गाउँपालिका – ६ धुलिधारका ७० बढी घरपरिवार प्रत्येक वर्ष हिउँद र सुख्खायाममा खानेपानीको चरम समस्या झेल्दै आएका छन् ।
खानेपानी समस्याका कारण बालबालिकालाई समयमै विद्यालयमा पठाउन र सरसफाई गर्न समेत गाह्रो भएको स्थानीय कृष्णदत्त अवस्थीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो – ‘ गाइभैसीका लागि समेत बोकेर पानीको जोहो गर्नु पर्छ । गाउँमा खानेपानी पुर्याउँछु भन्ने कता गए थाहा नै छैन् । हाम्रा लागि त सरकार नै छैन् जस्तो छ ।’
पुराना कुवाँमा पानी सुक्दै गएपछि खानेपानी अभाव चुलिएको स्थानीय देवदत्त अवस्थीले बताउनु भयो ।
उहाँले भन्नु भयो –‘पहिलापहिला कुवाँमा पानी हुन्थ्यो । सोही पानीले गाउँमा खानेपानीको जोहो गर्दै आएका थियौँ । तर,अहिले कुवाँको पानी पनि सुकेपछि टाढाको मुहानबाट खानेपानी ल्याउनु पर्ने बाध्यता छ । गाउँमा पानी नहुँदा शौचालयसमेत प्रयोगविहीन छन् । स्थानीयहरू खुला रूपमा दिसापिसाब गर्न बाध्य छन् ।’
दशरथचन्द नगरपालिका –१ मुस्याचोर र गुरूखोला क्षेत्रका स्थानीयहरू पनि लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका छन् । सो ठाउँमा आउने खानेपानीको मुहान मै पानी कम भएपछि खानेपानीको हाहाकार भएको स्थानीय कविराज भट्टले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘धारामा आउने पानीका लागि पालो नै पुग्दैन । आधाघण्टाको दुरीमा रहेको खोलाको मुहानबाट पानी बोक्नु पर्ने बाध्यता छ ।’
पछिल्लो समयमा अन्धाधुन्ध रूपमा डोजरले सडक खन्दा प्राकृतिक मुहान सुक्दै गएका कारण खानेपानीको समस्या झेल्नु परेको दोगाडाकेदार गाउँपालिका – ४ का इन्द्रदेवशरण भट्टले बताउनु भयो ।
उहाँले भन्नु भयो – ‘डोजरले जथाभावी सडक खन्दा सडक तलतिरका मुहान मासिएका छन् । मुहान सुक्दै जाँदा गाउँमा खानेपानीको समस्या चुलिएको छ ।’
सुर्नया गाउँपालिका – ६ ठूलापातल खोलामा हिउँदमा पनि सफा पानी बग्ने गरेको भए पनि खोलामाथिका डाँडामा डोजरले सडक खनेपछि पानीका मुहान नै सुकेका स्थानीय भोजराज अवस्थीले बताउनु भयो ।
गाउँपालिकाका थुप्रै ठाउँमा खानेपानीको समस्या रहेको र यसको समाधानका लागि आफूहरू लागिपरेको गाउँपालिकाका अध्यक्ष बिरबहादुर बिष्टले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘क्रमसः खानेपानीको समस्या समाधान भएर जानेछ ।’
