भूकम्पका कारण भत्केको सदरमुकाम धुन्चेमा रहेको बालमन्दिर पुनर्निर्माण नहुँदा जीर्ण अवस्थामा छ । जिल्ला भरका असहाय बालबालिका पढ्दै आएको ०४२ सालमा निर्मित बाल मन्दिर भूकम्पपछि जीर्ण भएकोले बालबालिका राख्न पनि छाडिएको छ ।
भूकम्पले चिरा परेपछि प्रयोग विहिन यो बनेको भवन स्रोत अभावले मर्मत हुन सकेको छैन । विगतमा त्यहाँ पठनपाठन गर्ने बालबालिकाहरूले पढ्न नपाएको स्थानीय सुननुर्प तामाङले बताउनुभयो । तत्कालिन जिल्ला शिक्षा कार्यालयको सहयोगमा ०६८ सालदेखि आपाङ्ग पुनस्र्थापना केन्द्रले अपाङ्गता भएका विभिन्न स्थानका ३२ जना बालबालिकालाई विशेष शिक्षा दिन विशेष शिक्षा सदन विद्यालय खोलिएको शिक्षक विष्णुप्रसाद आचार्यले बताउँनुभयो । ‘भवन जीर्ण भएपछि त्यहाँ पढ्ने बालबालिका आफ्नै घरघर फर्के’ शिक्षक आचार्यले भन्नुभयो ‘अपाङ्गता भएका बालबालिकाहरूका लागि बिशेष आवासिय रुपमा पढाउने व्यवस्था थियो शिक्षा अधिकारबाट बञ्चित भए ।’
त्यसै गरी जिल्लामा रहेको सभाहल पनि भूकम्प पछाडि जीर्ण छ । गाउँमा सामाजिक रितिरिवाज, संस्कृति सभा समारोह चलाउने धुन्चेको सभाहल पनि ०७२ सालको विनाशकारी भूकम्पका कारण ध्वस्त भएको हो । तत्कालिन राजा आउदा वा स्वागत सत्कार गर्ने गरिएको यो सभाहल अहिले जीर्णोद्धारको पर्खाइमा छ ।
परम्परागत कलात्मक शैलीको यो भवन ०३५ सालमा निर्माण भएको हो । त्यहाँ रहेको गजुर र कलात्मक बुट्टाहरू पाटनबाट झिकाइएका मुर्तिकारहरूले कुँदेर निर्माण गरेका थियो । यस्तो साँस्कृतिक धरोहरको संरक्षण गर्न ढिलाइ गर्न नहुने नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउनुभयो । ‘यस्ता साँस्कृतिक महत्वका संरचना तथा गोम्बा, मन्दिर पुनर्निर्माण चाँडै हुनुपर्छ’ उहाँले भन्नुभयो ।
३ सय जना अटाउने क्षमताको हलको अघिल्लो भागमा १२ बेड क्षमताको पाहुना कोठा समेत रहेको छ । तत्कालिन राजादेखि सरकारी पाहुनाहरू यहाँ बस्ने गरेको मानवअधिकार संरक्षण मञ्चका जिल्ला अध्यक्ष तथा पत्रकार ज्ञानेन्द्रनाथ न्यौपानेको अनुभव छ ।
भत्केको भग्नावशेष पन्छाउन नसक्दा त्यहाँ पुग्ने मानिस पुरिन सक्ने जोखिम छ, पुनर्निमाणको चासो कसैले नदिएकोले सभा समारोह गर्ने परम्परागत नाचगान तथा संस्कृतिक कार्यक्रम गर्ने ठाउँ अभाव समेत झेल्नु परेको स्थानीय सुननुर्प तामाङले बताउनुभयो । नेपालकै पहिलो तामाङ संग्रहालय पनि पुनर्निर्माण हुन सके यहाँकोको संस्कृतिको जगेर्ना हुने तामाङ बताउनुहुन्छ ।
