INSEC Online

📅 २०८३ जेष्ठ २२

जनप्रतिनिधि र कर्मचारीसहित १७ जनाको टोली भ्रमणमा जाँदा सेवाग्राही सेवाबाट वञ्चित

भोजपुर नगरपालिकाका मेयरसहित १७ जनाको टोली माग २६ गते भ्रमणमा हिँडेपछि दैनिक कामकाजमा समस्या भएको ।

मेयर कैलाशकुमार आले, उपप्रमुख ममीता राई, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढङ्गेल, लेखा प्रमुख सुरेन्द्रकुमार श्रेष्ठ, वडाध्यक्ष, प्राविधिक, गरी १७ जनाको टोली भ्रमण हिँडेपछि दैनिक कामकाजमा समस्या भएको भोजपुर नगरपालिका–७ का ६२ वर्षीय सेवाग्राही आङपासाङ शेर्पाले बताउनु भयो ।

आर्थिक कारोवार प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको हस्ताक्षरमा मात्र हुने व्यवस्था छ,तर दुवै जना कार्यालयमा नभएपछि सेवा प्रवाहमा समस्या भएको हो ।

६२ वर्षीय आङपासाङ शेर्पा सडक निमार्णको योजनाको भुक्तानी लिन नगरपालिका पुगेको फागुन २ गते सम्म तीन पटक भईसकेको छ । पटक–पटक जाँदा पनि कार्यालयमा कर्मचारी नभेटिएको उहाँको गुनासो छ ।

नेपालको संविधानको भाग ३, धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ भनी व्यवस्था गरिएको छ ।

तर, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भोजपुरका सचिव बुद्ध तामाङ नगरपालिकाले सञ्चालन गरेको योजनाहरूको विषयमा जानकारी लिन फागुन २ गते नगरपालिका पुग्नु भयो तर उहाँलाई सूचना दिने अधिकारी कोही थिएन । उहाँले कर्मचारी नभएका कारण सूचना पाउन सक्नु भएन ।

न्यायिक समिति संयोजक नहुँदा न्याय सम्पादनमा समेत समस्या भएको छ । मानव अधिकार महिला रक्षक सञ्जाल भोजपुरकी अध्यक्ष २९ वर्षीया सुशीला तामाङ घरेलु हिंसाको घटनामा मेलमिलाप गराउन फागुन ३ गते नगरपालिका पुग्नु भयो तर न्यायिक समिति संयोजक नहुँदा घरेलु हिंसाको घटनामा मिलापत्र हुन सकेन ।

भोजपुर नगरपालिका –७ का ४५ वर्षीय हरिबहादुर प्रधान छोरीको नागरिकता बनाउनका लागि सिफारिसपत्र लिन फागुन ३ गते नगरपालिका पुग्नु भयो । वडाध्यक्ष समेत भ्रमणमा गएकाले उहाँले छोरीको नागरिकता बनाउने सिफारिस पाउनु भएन ।

भोजपुर नगरपालिका–१ का ३५ वर्षीय सुरिन सुन्दास घरको नक्सा पास गर्न फागुन ३ गते नगरपालिका पुग्नु भयो । तर कार्यालयमा कर्मचारी नहुँदा उहाँपनि काम नसकी घर फर्कनुु भयो । यसरी कार्यालय नै बन्द गरेर कर्मचार भ्रमणमा जाँदा सेवाग्राहीले दुख पाएको उहाँको गुनासो छ ।
उल्लेखित घटना प्रतिनिधि घटना मात्र हुन् । सिङ्गो कार्यालय बन्द गरी जनप्रतिनिधि र कर्मचारी भ्रमणमा गएपछि नगरपालिका पुगेर काम नभई फर्कने सेवाग्राहीको सङ्ख्या उल्लेखनीय छ ।

मौखिक रूपमा कार्यालयको निमित्त प्रशासकीय अधिकृतको रूपमा इञ्जिनियर अरुण हमाललाई अनुमति दिएको भएपनि लिखित रूपमा जिम्मेवारी नदिएको इञ्जिनियर अरुण हमालले बताउनु भयो । उहाँले आफूलाई मौखिक रूपमा जिम्मेवारी दिएको भएपनि लिखत नगरी सरकारी कार्य गर्न नमिल्ने भएकाले सेवाग्राही कार्यालय आएर पनि फर्कनु परेको बताउनुभयो ।

भोजपुर नगरपालिका–६ का वडाध्यक्ष शैलेन्द्र कार्कीले कोही कसैलाई कायममुकायम जिम्मेवारी नदिएको बताउनुभयो । उहाँले जिम्मेवारी दिने विषयमा नगरपालिकामा कुनै छलफल तथा बैठक नभएको र लिखित निर्णय नभएको बताउनुभयो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले आफूलाई जनप्रतिनिधिले भ्रमणको विषयमा कुनै जानकारी नगराएको र सो विषयमा जानकारी नभएको बताउनुभयो । उहाँले सेवाग्राहीलाई मर्कामा परेको विषयमा आफू गम्भीर भएको सो विषयमा जानकारी लिएर प्रचलित कानून बमोजिम कारबाही अघि बढाउने बताउनुभयो ।

अन्य

भिडियो