पाँचपोखरी थाम्पाल गाउँपालिका–८ मा रहेको तिपेनी प्रहरी चौकीमा ०७६ माघ २५ गते बिहान एक बजेको समयमा अज्ञात समूहले ढुङ्गामुढा गरी आक्रमण गरेका छन् । आक्रमणबाट चौकीका इन्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका छन् ।
मोटरसाइकल चढेर आएका ८÷१० जनाको समुहले प्रहरी चौकीमा ढुङ्गामुढा गरी आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आक्रमणबाट घाइते भएका असई सन्तोषकुमार झालाई उपचारकोलागी काठमाण्डौ स्थित प्रहरी अस्पताल माहाराजगंज लगिएको छ भने प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्ची स्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी प्रज्वल महर्जनले बताउनुभयो ।
पाँच जना सुरक्षाकर्मी रहेको उक्त प्रहरी चौकी आक्रमणको सूचना पाएपछि तत्काल सदरमुकाम चौतारा र इलाका प्रहरी कार्यालय मेलम्चीबाट थप सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका एसपी प्रज्वल महर्जनले बताउनुभयो । घाइते असईको टाउको, अनुहार र कम्बरमा चोट लागेको प्रहरीले जनाएको छ । आक्रमणकारीको पहिचान हालसम्म नखुलेको एसपी महर्जनले बताउनुभयो । आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन ।