१९ वर्षीया एक युवतीको गर्भपतन गराएको आरोपमा प्रहरीले कुम्मायक गाउँपालिका –१ का २९ वर्षीय औषधि व्यवसायी ३० वर्षीय खगेन्द्र घिमिरेसहित तीनलाई माघ २३ गते गिरफ्तार गरेको छ ।
प्रहरीले सोही घटनामा संलग्न भएको आरोपमा फिदिम नगरपालिका–१स्थित समर्पित अस्पतालका डाक्टर ३६ वर्षीय विशाल श्रेष्ठ र सोही अस्पतालका ३० वर्षीय स्वास्थ्य सहायक शिशिर आङबोलाई गिरफ्तार गरेको छ ।
स्वीकृति नै नपाएको अस्पतालले ०७६ पुस २४ गते २१ हप्ताको भ्रुण गर्भपतन गराएको आरोपमा उनीहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोमनराज अर्यालले बताउनुभयो ।
अस्पतालका हेल्थ सहायक शिशिर आङ्बोले गर्भपतन नगराएको युवती सरसफाई गर्न अस्पताल आएपछि सरसफाई मात्र गरेको बताउनुभयो । आरोपित आङ्बोले युवतीले बाहिर नै औषधि सेवन गरेकाले रक्तस्राव भएको र सो रोक्नलाई अस्पताल आएपछि आफूहरूले उपचार गरेको बताउनुभयो ।
पीडित युवतीले गर्भपतन गराएको आरोपमा अस्पतालका तीन जना र अन्य चार जना विरूद्ध पुस २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको इन्स्पेक्टर अर्यालले बताउनुभयो ।
कुम्मायक गाउँपालिका –५ का २९ वर्षीय रमेश खड्कासँगको सम्वन्धबाट बसेको गर्भ निजका आफन्त तथा छिमेकीको दबाबमा पतन गराएकाले कानुनी कारबाहीका लागि उजुरी दिएको पीडितले बताउनुभयो ।
कुम्मायक गाउँपालिकाका अध्यक्ष ५० वर्षीय जयबहादुर चेम्जोङले समेत गर्भपतन गराउँन दबाब दिएको पीडितले बताउनुभयो ।
गाँउपालिका अध्यक्षका विषयमा अनुसन्धान थालिएको र दोषी देखिए गिरफ्तार गर्ने प्रहरीले जनाएको छ ।