नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई माघ १७ गते अज्ञात पक्षले आक्रमण गरेको छ ।
आलिताल गाउँपालिका–३ को वडा बैठकमा सहभागी हुनका लागि बैठक स्थलतर्फ जाने क्रममा उहाँलाई कुटपिट गरेको आलिताल प्रहरी चौकीका असई कमलप्रसाद जोशीले बताउनु भयो । जोशी सवार से ६ प ७९२६ नम्बरको मोटर साइकलमा पनि तोडफोड गरिएको असई जोशीले बताउनु भयो ।
कुटपिटबाट उहाँको गोडा भाँचिएको छ भने टाउको र हातमा चोट लागेको छ । उहाँको उपचार गर्न एम्बुलेन्समार्फत धनगढी लगिएको भए पनि धनगढीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ ।
नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहराले आफू जोशीसँगै मोटरसाइकलमा सवार भएको भए पनि भाग्न सफल भएको बताउनु भयो ।
घटनामा संलग्न पक्षको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ।
नेकपाद्वारा घटनाको भत्र्सना
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले घटना लगत्तै एक प्रेस विज्ञप्ति जारी गरी घटनाको घोर भत्र्सना गरेको छ । आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अपहरण र कुटपिट गरी घाइते बनाएको घटनाले पार्टीको गम्भीर ध्यानार्कषण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘पार्टीले निर्धारण गरेको कार्यक्रममा सहभागी हुने क्रममा भएको कायरतापूर्ण घटनाको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोर भत्र्सना गर्दछ ।’–नेपाल कम्युनिष्ट पार्टी (नेकपा), डडेल्धुराका सचिव वीरेन्द्रकुमार बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । साथै, घटनामा संलनहरूलाई यथाशीघ्र खोजी गरी कानुन बमोजिम कारबाहीको माग समेत गरिएको छ ।

