INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयमै वडा कार्यालय, सेवाग्राही धेरै आउँदा पठनपाठन प्रभावित

देवघाट गाउँपालिका–२ स्थित व्यागनमा रहेको सर्वोदय आधारभूत विद्यालयको एउटा कोठामा वडा नम्बर २ को कार्यालय सञ्चालन भइरहेको छ ।

विद्यालयमै वडा कार्यालय राखिएपछि बालबालिकाको पठनपाठनमा समस्या हुने गरेको छ ।

२०७४ भदौ १८ गते बाट उक्त विद्यालयको कोठामा वडा कार्यालय सञ्चालन गरिएको हो । विद्यालयका प्रअ टेकबहादुर आलेले वडाको अनुरोधमा विद्यालयको एउटा कोठा कार्यालय सञ्चालनकोलागि उपलब्ध गराइएको बताउनुभयो ।

वडा कार्यालयमा कहिलेकाहि सेवाग्राही धेरै आउने  र  विभिन्न विषयमा विवादका कुराहरु आउनेहुँदा त्यसले पठन पाठनमा समस्या हुने गरेको प्रअ आलेले बताउनुभयो ।

गाउँमा वडा कार्यालय राख्नकोलागि उपयुक्त कोठा नपाएको हुँदा विद्यालयसँग अनुरोध गरेर कार्यालय सञ्चालनकोलागि एउटा कोठा मागिएको वडा अध्यक्ष पोलबहादुर आलेले बताउनुभयो ।

वडा अध्यक्ष आले निर्वाचित हुनु अघि सो विद्यालयको प्रअ भएको कारण पनि वडा कार्यालयलाई विद्यालयको कोठा उपलब्ध गराउन सहज भएको प्रअ आलेले जानकारी दिनुभयो ।

सबै वडाबासीलाई पायक पर्ने ठाउँमा र सबैको सुविधाका लागि विद्यालयमा कार्यालय सञ्चालन गर्नु बाध्यता रहेको वडा अध्यक्ष आलेले बताउनुभयो ।

गाउँलेका घरहरु कार्यालय सञ्चालनको लागि उपयुक्त नभएको हुँदा जसोतसो कार्यालय चलाउनु परेको उहाँले बताउनुभयो ।

विद्यार्थी पढ्ने कक्षा र वडा कार्यालय एउटै भवनमा जोडिएको कारण पनि कहिले काँही पठनपाठनमा समस्या हुने गरेको वडा अध्यक्ष आलेले स्वीकार गर्नुभयो तर यो भन्दा अन्य विकल्प केही नभएको हुँदा अहिले जसोतसो काम चलिरहेको उहाँको भनाइ छ ।

वडामा विभिन्न कामहरु लिएर दैनिक करिब पन्ध्र जनाको संख्यामा सेवाग्राहीहरु आउने गरेका छन् । तर, कक्षाको नजिकै कार्यालय भएकाले सेवाग्राही धेरै आउँदा हल्ला नगरी बस्नुस् बालबालिकाको पढाइमा असर पर्छ, तपाइको काम हुन्छ भन्छौं तर, कहिले अत्यन्तै धेरैजना काम लिएर आउनुहुन्छ त्यस्तो बेलामा भने बालबालिकाको पढाइ प्रभावित हुने गरेको वडाध्यक्ष आलेले बताउनुभयो ।

स्थानीय तहको निर्वाचन लगत्तै तालबारी भन्ने ठाउँमा एउटा कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरिएपनि वडावासीलाई अपायक हुने र उहाँहरुलै आग्रहमा व्यागानमा कार्यालय सञ्चालन गरिएको वडा अध्यक्ष आलेले बताउनुभयो ।

कक्षा ८ मा अध्ययनरत विद्यार्थी रमेश विकले कहिलेकाही सेवाग्राही धेरै आउँदा हल्ला हुने र पढाईमा बाधा पर्ने बताउनु भयो ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले तत्कालकोलागि अन्य केही विकल्प नहुँदा विद्यालयमा नै कार्यालय सञ्चालन गरिएको बताउनुभयो ।

कार्यालयको नयाँ भवनको शिलान्यास समेत भइसकेको र अब एक वर्ष भित्र भवन बनाइसक्ने भएकोले यो समस्या धेरै दिन नहुने उहाँको भनाइ छ ।

विद्यालयको पठनपाठनमा कुनै असर नगर्ने गरि वडा कार्यालय सञ्चालन गर्न वडा समितिलाई अनुरोध गरिएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । विद्यालयमा दुई सय १० जना विद्यार्थी अध्ययनरत छन् ।

photo20200128Tanahun

 

अन्य

भिडियो