सरकारी स्तरबाट सञ्चालित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधिको अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । केन्द्रमा सामान्य औषधि समेत नहुँदा उपचारमा आउने सर्वसाधरण स्वास्थ्य परीक्षण पछि बिरामी रित्तो हात फर्कन बाध्य भएको कार्यालयका वरिष्ठ कविराज निरीक्षक एवं सूचना अधिकारी बलभद्र वाग्लेले जानकारी दिनुभयो ।
प्रदेश सरकार मातहतको उक्त स्वास्थ्य केन्द्रमा औषधीको अभावको बारेमा मन्त्रालयलाई पटक पटक जानकारी गराइएपनि औषधीको व्यवस्थापन गर्न नसकेको उहाँले बताउनुभयो ।
हाल केन्द्रमा ५ प्रकारका विभिन्न आयुर्वेदिक औषधीको अभाव भएको वाग्लेले जानकारी दिनुभयो । उक्त स्वास्थ्य केन्द्रमा गत साउन पहिलो साता देखी नै औषधीको अभाव भएको वाग्लेले बताउनुभयो ।
निःशुल्क रूपमा स्वास्थ्य परिक्षणको सुविधा पाएका सेवाग्राहीले निःशुल्क सेवा लिन सरकारी स्वास्थ्य संस्थामा आएपनि औषधी भने बाहिर निजिमा गएर किन्नु परेको बताउनुभयो ।
केन्द्रमा स्वास्थ्य परिक्षण गर्न जानु भएका दमौलीका रामकुमार श्रेष्ठले केन्द्रबाट औषधी नपाउँदा बाहिर नीजि आयुर्वेदिक पसलमा गएर महंगो शुल्क तिरेर किन्न बाध्य भएको बताउनुभयो ।
केन्द्रबाट दैनिक ४० देखी ४५ जनाको स्वास्थ्य परिक्षण हुँदै आएको कार्यालयका प्रमुख डा. रामप्रबोध मन्डलले बताउनुभयो ।
सो केन्द्रमा नियमित स्वास्थ्य परिक्षणसँगै पञ्चकर्म विधिबाट उपचार सेवा दिने, योगाभ्यास गराउने र परामर्शको सेवा दिएको कारण सर्वसाधरणको आकर्षण बढेको उहाँले बताउनुभयो ।
उपचार पद्धती प्रभावकारी भएपनि विरामीलाई औषधी दिन नपाउँदा आफूहरुलाई निकै दुःख लाग्ने गरेको प्रमुख मण्डलले बताउनुभयो ।
सो केन्द्रमा ग्याष्ट्रिक, अम्लपित्त, स्त्री रोग, नसा, छाला, पायल्स सम्बन्धी समस्याका बिरामी बढी मात्रामा आउने गरेका छन् ।
औषधीको अभावको बारेमा प्रदेश सरकारलाई जानकारी गराईएको अहिले औषधी खरिदको टेन्डर प्रक्रियामा रहेको हुँदा सो प्रक्रिया पुरा भएपछि प्राप्त हुने जानकारी मन्त्रालयबाट आएको कार्यालयका प्रमुख डा.मन्डलले जानकारी दिनुभयो ।