कमैया मुक्त भएको १९ वर्ष बिति सक्दापनि उनीहरूको उचित पुनर्स्थापना हुन सकेको छैन ।
६५ घरपरिवार मुक्त कमैयाले अहिलेसम्म जग्गा पनि पाउन सकेका छैनन् । बर्दिया जिल्लामा १० हजार ७ सय ७९ घरपरिवारले परिचयपत्र पाएकोमा १० हजार ७ सय १४ जना पुनर्स्थापना भइसकेका छन् । ६५ घरपरिवार मध्ये ३० घरपरिवार मात्रै सम्पर्कमा आएको सम्पर्कमा आएको मुक्त कमैया र मुक्त कमलहरीको क्षेत्रमा काम गरिरहेको संस्था कमैया महिला जागरण समाजको तथ्याङ छ ।
सरकारले २०५७ साउन २ गते मुक्त घोषणा गरेको भएपनि आफूहरू पीडा सहेर बस्न बाध्य रहेको मुक्तकमैया तथा कमैया महिला जागरण समाजका अध्यक्ष बिरुनी थारुले बताउनु भयो ।
प्रदेश ५ की उपसभामुख कृष्णी थारुले मुक्त कमैयाको पुनस्र्थापनाका सम्बन्धमा सङ्घीय सरकारले स्थानीयतहलाई जिम्मा लगाइसकेको हुँदा नीति बनाएर समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।
मुक्त कमैयाहरूलाई भूमि सुधारले वितरण गरेको जग्गाधनी पुर्जामा समेत कतै कित्ता नम्बर छुटाएको त कतै बुबाको नाम फरक पारेकोले समस्या भएको मुक्त कमैया अगुवा दुखराम थारूले बताउनु भयो ।
राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तराज अधिकारीले मुक्त कमैया पुनर्स्थापनाकालागि निकास खोज्ने बताउनु भयो ।